२०२४ को पहिलो उल्का वर्षा बिहीबार देखिने

काठमाडौं - सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ४ र ५ (पुस १९ र २० गते) का रातमा अत्याधिक मात्रामा हुने भएको छ ।

ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई ‘भूतप उल्का’ वर्षा नाम दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

भूतप उल्का वर्षा स्थानीय समयअनुसार पुस १९ गते दिउँसैदेखि अत्याधिक मात्रामा सक्रिय भए पनि राति ११ : ३० बजेदेखि भोलिपल्ट अर्थात् बिहान पुस २० गतेको सूर्योदयभन्दा अगाडि हेर्न सकिनेछ ।

अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्ने भट्टराईले जनाए ।

अत्यधिक उल्का वर्षाको समयमा प्रति घण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।

ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमिमाथि वायुमण्डलमा देखिने छन् ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् ।

यसैलाई उल्का वर्षा भनिने अध्यक्ष भट्टराईले जानकारी दिए । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको वा तारा पोइल गएको पनि भनिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics