कपिलवस्तुको वनमा क्यामरा ट्यापिङ, चितुवा पछि भेटियो बाघ
- नेचर खबर
कपिलवस्तु – कपिलवस्तु जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा बाघ फेला परेको छ । बाघ र अन्य स्तनधारी वन्यजन्तुको अवस्था थाहा पाउन राखिएको क्यामरामा बाघ ट्याप भएपछि यो क्षेत्रमा बाघ रहेको औपचारिक पुष्टि भएको तराई भू–परिधि (ताल) कार्यक्रम बाँकेका प्रमुख लक्ष्मण प्रसाद पौडेलले बताए ।
बाघ फेला परेको स्थानको विषयमा थप विवरण र फोटो कार्यक्रमको समापन पछि सार्वजनिक गरिने पौडेलको भनाई छ । ताल परियोजनाले पुस ४ गते देखी कपिलवस्तु, दाङ र अर्घाखाँचीका वनमा क्यामरा ट्यापिङ जडान गरिएको थियो ।
दाङको गडवा र राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिका र कपिलवस्तुको विजय नगर गाउँपालिका, शिवराज नगरपालिका र बुद्ध भूमि नगरपालिकाको वडा नम्बर ९ मा क्यामरा राखिएको थियो । हरेक २ किलोमिटर क्षेत्रमा एक क्यामरा राखिएको छ । तिन जिल्लाका ५६० वर्ग किलोमिटर क्षेत्रफलमा १४२ क्यामराबाट वन्यजन्तुको अवस्था अध्ययन गरिएको छ ।
बाटो, नदीको तिर, फायर लाइन, खुला स्थान, डाँडा, पानीको स्रोत भएको लगायतका स्थानमा क्यामरा राखिएका छन् । एक महिना सम्म क्यामरा राखी अध्ययन गरिने छ । वन्यजन्तु ओहोरदोहोर गर्ने सम्भावना भएका स्थानलाई प्राथमिकता दिँदै बाटोदेखि ४÷५ मिटर दायाँबायाँ र भुईँदेखि ४५ देखि ६० सेन्टिमिटर माथि रूखमा र रुख नभएका स्थानमा लौरो गाडेर क्यामरा राखिएको डिभिजन वन कार्यालय गौतम बुद्ध (कपिलवस्तुका) वन अधिकृत कल्याण सापकोटाले बताए ।
सेन्सर जडित क्यामरामा हावा र तापक्रमसँग हुने परिवर्तन सँगै फोटो खिच्ने प्रविधि रहेको छ । क्यामरा लगाएको पहिलो दिन मै चितुवाको फोटो खिँचेको सापकोटाले बताए । बुद्ध भूमि नगरपालिका ९ गब्दहवा बस्ती नजिक चितुवा देखिएको थियो । साँझ ७ बजे क्यामराले चितुवाको तस्बिर खिचेको थियो ।
प्रतिक्रिया दिनुहोस