समातिए ३ वटा गैँडा मारेको घटनामा संलग्न फरार ३ अभियुक्त

चितवन - चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा तीन वटा गैँडा मारेको घटनामा संलग्न फरार तीन अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये दुई जनालाई चितवन जिल्ला अदालतमा पेस गरिएको छ भने सजाय सुनाइएका एक जनालाई भरतपुर कारागार पठाइएको निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए ।

निकुञ्जले २०७७ कात्तिक २० गते भुसारघाट पारीपट्टि आइल्यान्ड क्षेत्रमा गोली हानेर गैंडा मारी खाग तस्करी गरेको घटनामा संलग्न २४ जनामध्ये भरतपुर महानगरपालिका–२४ का फुर्के भन्ने गणेश कुमाललाई यही पुस २१ गते पक्राउ गरेको हो ।

भरतपुर-२४ को रातो मचान भन्ने ठाउँबाट पक्राउ गरिएका कुमाललाई २२ गते नै थुनछेक बहसका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको निकुञ्जले जनाएको छ ।

यस्तै २०६३ साउन २८ गते खगेन्द्रमल्ली सिमल गैहरी क्षेत्र नजिक गोली हानी गैंडा मारेको घटनामा संलग्न १४ जनामध्ये १७ वर्षदेखि फरार वाइबा तामाङ भन्ने सोनाम सिंह तामाङलाई निकुञ्जको टोलीले मंगलबार इच्छाकामना–७ भालुमाराबाट पक्राउ गरेको हो । उनलाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको छ ।

त्यस्तै २०६० माघ २० गते नन्दनताल क्षेत्रमा गैंडा मारेको घटनामा संलग्न ४ जना प्रतिवादीमध्ये जेठा मुक्तिबहादुर पुन भन्ने मुक्तलाल पुन मगरलाई मंगलबार पक्राउ गरिएको हो ।

उनलाई अदालतले १५ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो । १३ वर्षदेखि फरार रहेका मुक्तलाललाई बुधबार भरतपुर कारागार चलन गरिएको निकुञ्जले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics