लाटोकोसेरो अर्थात् किसानको साथी

काठमाडौं – उल्लु अर्तात् लाटोकोसेरोलाई ‘किसानको साथी’ भन्ने गरिन्छ । तर, किन ? धेरैलाई थाहा नहुन सक्छ । यसले मानिसलाई के काम सघाई रहेको छ ? कमैलाई थाहा होला । आज यसै लाटोकोसेरोका विषयमा पढौं, जानौं ।

लाटोकोसेरोविद् राजु आचार्य भन्छन्, ‘एउटा लाटोकोसेरो परिवारले चार महिनामा तीन हजार मुसा खान्छन् ।’ अनि यसरी मुसा नियन्त्रण गर्नमा सघाउने लाटोकोसेरो किसानको साथी भएन त ? यसले फुल पारेर बच्चा कोरल्छ । बच्चा पारेपछि हुर्काएर उडाउन चार महिना लाग्छ । यो समयमा उसले सबैभन्दा धेरै मुसाको सिकार गर्छ । त्यो पनि सुनसान रातको समयमा । सबै सुतेको समयमा चलायमान हुने मुसा उल्लुले नै ढुकेर सिकार गर्ने हो ।

यसले मुसाबाहेक सर्प, भ्यागुता, कीराफट्यांग्रासमेत खान्छ । लाटोकोसेरोले कीराफट्यांग्रासमेत खाइदिएपछि किसानलाई ढुक्क । जहाँ लाटोकोसेरो धेरै पाइन्छ, त्यो ठाउँको खेतिपाती सप्रन्छ ।

नेपालमा लाटोकोसेरो संरक्षणका लागि सरकारीस्तरबाट केही काम भएको छैन । तर, पर्वतमा भने लाटोकोसेरो तथा हुचिल उत्सवको आयोजना गरिँदै आएको छ । यस वर्ष पनि लाटोकोसेरो तथा हुचिल उत्सव २०८० पर्वतको जलजला गाउँपालिका ५ लेख फाँट लाप्रेमा हुने छ । माघको १९ र २० गते १४औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुन लागेको हो ।

प्रकृतिका साथी नामक संस्थाले देशमा हुने विभिन्न महोत्सव भन्दा पृथक् चरा संरक्षण उत्सव गर्दै आएको हो । उत्सवमा लाटोकोसेरो चराको संरक्षणका साथै अन्य वन्यजन्तु, वनस्पतिको संरक्षणका विषयमा छलफल, बहस, सांस्कृतिक कार्यक्रम मार्फत संरक्षण सन्देश दिनुको साथै स्थानीय युवा, आमा, बुवाहरुलाई लाटोकोसेरो लगायत वन्यजन्तुको महत्व र वन्यजन्तु नहुँदा मानव जीवनमा पर्ने संकटका विषयमा सचेतना मूलक कार्यक्रम हुने गर्छ ।

उता दक्षिण अफ्रिकामा सरकारले नै लाटोकोसेरोलाई काठको कृत्रिम गुँड बनाएर किसानलाई बाँड्दै आएको छ । किसानले गुँड खेतबारीमा राखिदिन्छन् । वनकै लाटोकेसेरोले त्यहाँ फुल पार्छ । कोरल्छ, बच्चा हुर्काउँछ । त्यतिबेला किसानले विषादिमा जति खर्च गर्थे, कृत्रिम गुँड राख्न थालेपछि ५० प्रतिशत कमी आएको एक अध्ययनले देखाएको छ ।

लाटोकोसेरोको उपस्थितिले सम्बन्धित ठाउँको वातावरण स्वस्थ छ कि छैन भनेर जान्न सघाउँछ । संसारमा २ सय २५ प्रजातिका लाटोकोसेरो पाइन्छन् । नेपालमा २२ प्रजातिका लाटोकोसेरो भेटिएका छन् । चरामात्रै हेर्न आठ प्रतिशत पर्यटक नेपाल आउँछन् । पहिले पाँच प्रतिशत थियो । चरामध्ये लाटोकोसेरो पनि एक हो । तसर्थ, लाटोकोसेरोले पर्यापर्यटनमा सघाउ पुर्याउँदै आएको छ ।



लक्ष्मीको वाहन
लाटोकोसेरोलाई लक्ष्मीको वाहन मानिन्छ । गुरुङ संस्कृतिमा लाटोकोसेरोको त्यत्तिकै महत्व छ । कुनै बेला संसारभरि अँध्यारो थियो । लाटोकोसेरोले तपस्या गरेर सात घाम मागे । माग पुरा भएपछि रात परेन । सधैं दिन भएपछि अस्तव्यस्त भयो । लाटोकोसेरोले फेरि तपस्या गरेर सात जून मागे । माग पूरा हुँदा अँध्यारोमात्रै भयो । फेरि घाम-जून मिलाएर देऊ भनेपछि रात र दिन हुन थालेको भन्ने गुरुङ समुदायमा प्रचलित किंवदन्ती छ ।

अमेरिकाका कतिपय ठाउँमा कतै निस्कँदा लाटोकोसेरो देखियो भने साइत बिग्रेको ठानिन्छ भने नेपालमा पनि कतिपयले घरको धुरीमा बसेर लाटोकोसेरो राति करायो भने अनिस्ट हुने विश्वास गर्छन् । चीन र भियतनाममा लाटोकोसेरोको रक्सी बनाइन्छ । चीनमा लाटोकोसेरोलाई १० वर्षसम्म बोतलमा राखेपछि रक्सी बनाउने गरिन्छ ।

नेपालबाट सालिन्दा दुई हजारको हाराहारीमा लाटोकोसेरोको अवैध व्यापार हुने विभिन्न अध्ययनले देखाएको छ । भारतमा ठूल्ठूला तान्त्रिकले झारफुक गर्दा लाटोकोसेरो प्रयोग गर्ने गर्छन् । लाटोकोसेरो संरक्षणमा लागिपरेका आचार्यका अनुसार उसको तीन वटा परेला हुन्छन् ।

लाटोकोसेरोले आँखामा धुलो पर्यो भने माथिको परेला झिमझिम गर्छ भने आराम गर्दा तलको परेला माथि लैजान्छ । आराम गर्दा तलको परेला माथि लैजानु भनेको आँखा छोपेको हो । उसको तेस्रो परेला गाडीको वाइपरजस्तो हुन्छ । त्यो उसको नाकनजिक नीलो रंगको हुन्छ । लाटोकोसेरोको आँखालाई चिसो राखिरहनुपर्छ । उसको परेलानजिक पानी निस्कन्छ । पानी आँखाको सबै भागमा पुर्याउन तेस्रो परेलाले सघाउँछ ।

उसले नदेखीकन पनि सिकार गर्न सक्छ । कुनै घाँसेमैदानमा मुसा छ भने त्यो मुसा आफूदेखि कति दूरीमा छ भनेर सुनेरै थाहा पाउँछ । उसले एउटै दिशामा २७० डिग्रीमा टाउको घुमाउन सक्छ । उसले आँखा घुमाउन नसक्ने भएकाले टाउको घुमाउने गर्छ ।

संसारकै सानो लाटोकोसेरो ‘एल्फ’ हो । एल्फ मेक्सिकोमा पाइन्छ । यसको तौल ३५ ग्रामको हुन्छ । संसारकै ठूलो लाटोकोसेरो हुचिल हो । हुचिल नेपालमा पनि पाइन्छ । नेपालमा चराको अध्ययन भएको दुई सय वर्ष भइसके पनि लाटोकोसेरोको प्रजाति र बासस्थानबारे मात्रै अध्ययन भएको देखिन्छ ।

लाटोकोसेरो तराई-मधेसदेखि ५,१०० मिटर उचाइसम्म भेटिन्छन् । लाटोकोसेरो प्रजातिकै हप्सिलो चार हजार मिटर उचाइमा मात्रै पाइन्छ । हप्सिलो हुम्ला र मुस्ताङमा भेटिएका छन् । नेपालमा पाइने २२ प्रजातिकै लाटोकोसेरो दुर्लभ मानिदैन ।

कुनै लाटोकोसेरो भुइँमा मात्रै बस्छन् भने कतिपय घरको दलिन, प्वाल, रूखको धोद्रोमा बस्ने गर्छन् । कतिपय भीरपहरा र घाँसेमैदान बस्छन् । उसले आफैं गुँड बनाउँदैन । अरूको प्रयोग गर्छ ।

लाटोकोसेरोले दुईदेखि १२ वटासम्म बच्चा उत्पादन गर्छ । औसतमा तीन-चार बच्चा पार्ने उसले दोलखामा सातवटासम्म उत्पादन गरेको लाटोकोसेरो जिल्ला वन कार्यालय दोलखाले उद्धार गरेको थियो । लाटोकोसेरो आयु दुईदेखि चार वर्षसम्म हुन्छ । चिडियाखानामा १२ वर्षसम्मका लाटोकोसेरो देख्न सकिन्छ । लाटोकोसेरो र हुचिल फरक÷फरक भनिए पनि एउटै हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics