आजको मौसम : तराईमा हुस्सु, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । तराईका अधिकांश स्थानमा अहिले हुस्सु/कुहिरो लागेको छ । देशका पहाडी भू-भागमा भने आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

यसैगरी आज राति पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।

पश्चिम तराईका केही स्थानमा बिहानपख लागेको हुस्सु/कुहिरो मध्याह्‍नसम्ममा तथा मध्य तथा पूर्वी तराईका धेरै स्थानमा लागेको हुस्सु/कुहिरो अपराह्‍नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics