बारामा बाघको आतंक, राँगा पछि खायो ११ बाख्रा
- नेचर खबर
बारा - बारा निजगढ नगरपालिका रतनपुरीका बासिन्दा यतिबेला बाघको आक्रमणबाट त्रसित बनेका छन् ।
जंगलमा चराउन छाडेको ११ वटा बाख्रा बुधबार बाघले खाएपछि स्थानीय बासिन्दा त्रसित बनेका हुन् । यसअघि एउटा गाई र एउटा राँगो खाइसकेको बाघले बुधबार एकै दिन ११ वटा बाख्रा खाएको छ ।
निजगढ नगरपालिकाको डम्बरपुर, लाल हुँदै रतनपुरको जंगलमा देखापरेको बाघले घरपालुवा पशु खान थालेपछि सर्वसाधारण डराउनुका साथै एक्लै त्यो बाटो हिँडडुल गर्न डर लाग्ने गरेको स्थानीय रविराज दंगालले जनाए ।
जंगलनजिक भएपछि घरपालुवाको चरिचरणका लागि स्थानीयले गाई, भैंसी, बाख्रा दिनभर जंगलमै छाड्ने गरेका छन् । पछिल्लो समय जंगलमा बाघको संख्यामा बढेसँगै आहाराको खोजीमा रहेको बाघले घरपालुवामाथि आक्रमण गर्ने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस