किन आयो पूर्वपश्चिम विद्युतीय रेलमार्ग गौरवको सूचीबाट हटाउने प्रस्ताव ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वपश्चिम विद्युतीय रेलमार्गसहितका केही आयोजनालाई गौरवको सूचीबाट हटाउन प्रस्ताव गरेको छ ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको विहीबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय रेलमार्गका नाममा जनताको जग्गा ओगटेर राख्ने तर आयोजना कहिल्यै कार्यान्वयन नहुने भएकाले यस्ता आयोजनालाई गौरवको सूचीबाट हटाउनुपर्ने बताएका हुन् ।

उनले निर्देशन दिने तर व्यवहारिक समस्या हल गर्न पहल नगर्ने प्रवृत्तिका कारण आयोजना कार्यान्वयनमा समस्या भइरहेको गुनासो गरे । बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि पूर्व–पश्चिम विद्युतीय रेलमार्गलाई गौरवको आयोजनाबाट हटाउँदै व्यापारिक र त्रिदेशीय सम्बन्ध जोड्ने भएकाले अबको प्राथमिकता उत्तर–दक्षिण राजमार्गलाई दिनुपर्ने बताए ।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका चार गौरवका आयोजनाको प्रगति, चुनौती र समस्याबारे जानकारी लिन मन्त्रीसहित सचिव, सडक विभागका महानिर्देशक र आयोजना निर्देशनालयका प्रमुखलाई बोलाएको थियो ।

बैठकमा सदस्यहरूले भौतिक पूर्वाधार मन्त्रालयले जनतामा आशा जगाउने खालका आयोजना कार्यान्वयन गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।

बैठकमा सांसदहरूले जनतालाई सास्ती हुने र मुलुकमा आर्थिक भार मात्रै पर्ने आयोजना अघि नबढाउन सुझाव दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics