जलकुम्भीले ढपक्क टरुवा ताल

नवलपरासी । नवलपुरको कावासोतीस्थित टरुवा ताललाई जलकुम्भीले ढपक्क ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । जसका कारण तालको सौन्दर्य गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती ७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर संकटमा पर्न थालेको छ ।

कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रुपमा तालको सफाइमा काम हुन नसकेको स्थानीय तुलसी महतोले जनाए । ‘स्थानीले कहिलेकाहीँ सफा गर्छन्, फेरि झार आउँछ, अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो,’ उनले भने ।

करिब तीन दशमलव ५२ हेक्टरमा फैलिएको टरुवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ । तालको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुगेको छैन । तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । तालको संरक्षणका लागि केही समयअघि योजना अघि बढेको भन्ने सुने पनि खास काम नभएको महतोको भनाइ छ । ‘पहिले एकपटक सफा गर्ने, ताललाई राम्रो बनाउने भनेर डोजरसमेत ल्याएर अलि अलि काम भएको थियो । पछि के भयो, त्यतिकै छाडे, पूरा काम भएन, ताल उस्तै रह्यो,’ महतोले भने ।

ताललाई राम्रो बनाए यहाँको व्यापार व्यवसाय पनि बढ्ने स्थानीय केशकुमारी महतोको बुझाइ छ । उनी भन्छिन्, ‘टरुवा ताल सफा गरेर राम्रो बनाउन सके ताल हेर्न धेरै मानिस आउँथे वरपर व्यापार व्यवसाय बढ्ने थियो, स्थानीयसँगै सरकारलाई समेत आम्दानी हुने थियो ।’

पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको टरुवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ । कावासोती बजार विकासको प्रारम्भकालमा यहाँका बासिन्दाले पिउने र घरायसी प्रयोजनका लागि यसै तालको पानी प्रयोग गर्ने बताइएको छ । अन्य पानीको कुनै स्रोत नभएको र टरुवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले सुरु सुरुमा सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गर्थ्यो ।

पछि केरुङले खोला, कोइलापनी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो । यस अर्थमा समेत महत्त्व बोकेको ताल हिजोआज आफैँ संकटमा परेको छ ।

तालको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके जिल्लाकै महत्त्वपूर्ण स्थलका रुपमा परिचित हुने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए । उनले ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ संरक्षणका लागि स्थानीय बासिन्दासँगै स्थानीय सरकार लाग्नुपर्ने सुझाए ।

ताललाई जलकुम्भीले ढाकेपछि यसको सरसफाइका लागि वडास्तरबाट काम गर्ने योजना रहेको कावासोती ७, का वडाध्यक्ष गोविन्दप्रसाद महतोको भनाइ छ । वडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकालाई ताल सरसफाइमा खटाउने योजना बनाएको उनले बताए । ताल आफैंमा महत्त्वपूर्ण रहेकाले यसको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भइरहेको उनले दाबी गरे । कावासोती नगरपालिकाले तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यस वर्ष ५० लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष महतोले जानकारी दिए । ‘ताल संरक्षणका विषयमा छलफल र बहस चलेका छन्, मुख्य कुरा बजेट आवश्यक पर्नेरहेछ, अहिले थोरै विनियोजन भएको छ, केही काम यस वर्ष होला,’ उनले भने । -रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics