धादिङमा वन संरक्षणकर्मी सम्मानित

काठमाडौँ– धादिङ नीलकण्ठ नगरपालिका– ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्‍याएबापत आफ्ना चारजना संरक्षणकर्मीलाई सम्मान गरेको छ ।

समितिको साधारण भेलाका अवसरमा शनिबार नीलकण्ठ– ५ स्थित महेन्द्रोदय कालिका माध्यामिक विद्यालयको परिसरमा आयोजित कार्यक्रममा सम्मानित हुनेमा रामहरि शर्मा नेपाल, बलराम ढुङ्गाना, दुर्गाप्रसाद रिमाल र मसिना पौडेल छन् ।

सम्मानित व्यक्तित्व नेपालले तत्कालीन महेन्द्रोदय कालिका प्राथमिक विद्यालय स्थापनार्थ नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । साथै उनले सोही विद्यालयमा प्रधानाध्यापक भई लामो समय सेवा गरेका थिए । विद्यालयमा निम्नमाध्यमिक तथा माध्यमिक तहको पठनपाठन सुरुआत गराउन उनले नेतृत्वदायी भूमिकासमेत निर्वाह गरेका थिए ।

धादिङको समग्र शैक्षिक एवं प्राज्ञिक उन्नयनका लागि लामो समय व्यतीत गरेका समाजसेवी नेपाल पछिल्ला दिनमा जिल्लाको वन क्षेत्रको संरक्षणमा जुट्दै आएका छन् ।

कार्यक्रममा नीलकण्ठ– ५ का वडा सदस्य राजाराम ढुङ्गाना, डिभिजन वन कार्यालय धादिङका अधिकृत दीपक पुडासैनी तथा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोर ढुङ्गानाले सम्मानित व्यक्तिलाई सम्मानपत्र अर्पण गरेका थिए ।

साविकको खाल्टे गाउँ विकास समितिका वडा नं ४ र हाल नीलकण्ठ– ५ मा रहेको सो सामुदायिक वन समिति विसं २०५७ गठन भई वन संरक्षणमा सक्रिय हुँदै आएको छ । करिब एक सय ९५ हेक्टरमा फैलिएको सो वन जिल्लाकै उत्कृष्ट वनभित्र रहेको जनाइएको छ ।

सो अवसरमा नीलकण्ठ– ५ का वडा सदस्य राजारामले स्थानीय विकास निर्माणमा आफूले राजनीति विचारभन्दा माथि उठेर सेवा प्रदान गर्दै आएको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics