लाटोकोसेरो तथा हुचीलको महत्व बुझाउन संरक्षण उत्सव

काठमाडौं – पर्वतको लेखफाँटमा लाटोकोसेरो तथा हुचिल उत्सव २०८० हुने भएको छ । माघको १९ र २० गते १४औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुन लागेको हो ।

उक्त उत्सव लोप्रे स्थित मालीका आधारभुत विधालयमा गर्न लागिएको आयोजकले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरू संस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो । यसका लागि याम कुमारी गुरुङको सयोजकत्वमा १७ सदस्यीय ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजक मूल समिति र कार्यक्रमलाई सफल बनाउन थप ७ वटा उपसमीतीहरू समेत गठन गरिएको छ ।

उत्सवमा लाटोकोसेरो चराको संरक्षणका साथै अन्य वन्यजन्तु, वनस्पतिको संरक्षणका विषयमा छलफल, बहस, सांस्कृतिक कार्यक्रम मार्फत संरक्षण सन्देश दिनुको साथै सचेतना मूलक कार्यक्रम पनि हुने आयोजक संस्था प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।

किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरूको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको हो । स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरूको माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य समेत राखिएको छ । यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ ,स्याडजा र कैलाली जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा मात्र मनाइन्छ ।

उत्सव शूरु हुनु अघि नै विभिन्न स्थानीय विद्यालयहरूमा लाटोकोसेरो चेतना शिवीरहरू सञ्चालन भैरहेको छ। उत्सवको समयमा चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाचको प्रर्दशनी गरिने छ । उत्सवमा स्वागत गीत, स्थानीय विधालयहरूको नाँच, पन्चे बाजा, पुख्र्यौली नाँच, थिएटर नाँच, यानी माया, सालैजु आदिको प्रर्दशनी हुनेछ ।

त्यसेगरि लोपोन्मुख स्थानीय खेलहरू ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने, एक खुट्टे आदि समेतको प्रदर्शनी हुनेछ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरूले लाटोकोसेरो संरक्षण सम्बन्धि नाँच तथा नाटक समेतको प्रदर्शन गर्नेछन् ।

गाउँपालीका स्तरिय स्थानीय विधालयहरूमा चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता समेतको आयोजना गरिएको छ। सो अवधिमा लाटोकोसेरो तथा हुचीलको अस्थाई सग्रहालय समेतको निर्माण तथा प्रदर्शनी समेत हुनेछ । सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरू, चित्रहरू, तथा फोटोहरूको प्रदर्शनी पनि गरिने छ ।

गहुँको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरू समेत प्रदर्शनीमा राखिने छन् । आठ प्रजातिको लाटोकोसेरोहरूको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुनेहरूको अनुहार तथा नङमा निशुल्क रूपमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ ।

उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमुनाहरूपनि प्रदर्शनीमा राखिने छ । सो अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरूको आफ्नो अनुसन्धानको बारेमा पोष्टरहरू प्रस्तुती गर्नेछन् । वातावरण क्षेत्रका विभिन्न संघ सस्थाहरूको जानकारीमुलक स्टलहरू समेत रहने छ । सो अवसरमा स्थानीय रूपमा उत्पादन भएका सामाग्रीहरूको प्रदर्शनी तथा विक्रीवितरणको समेत व्यवस्था गरिएको छ । स्थानीय खाजा घरलाई विशेष प्राथमिकता दिइने छ ।

राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार
उत्सवको अन्तिम दिन चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरूलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ समेत दिन लागिएको छ । संरक्षणकर्मीहरूलाई जनही नगद रु. २५,०००÷– सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । यस वर्ष पुरस्कृत हुनेहरूमा,
क्षेत्रपाटी, काठमाण्डौका राजेन्द्र सुवाल, भजनी, कैलालीका हिरूलाल डंगौरा, बाह्बिसे सिन्धुपाल्चोकका कुमार पौडेल र कोहलपुर, बाँकेका याम बहादुर रावत छन् ।

संस्थागत सम्मान र स्थानीय सम्मान
लामो समय देखि चरा, सिमसार तथा वन्यजन्तु संरक्षणमा योगदान गरेको चरा संरक्षण नेटवर्क, कैलालीलाई सम्मान गर्न लागिएको छ । सो अवधिमा स्थानीय तहमा रहेर प्रकृति र पर्यापर्यटनमा योगदान गरेका आर के अदिप्त गिरी र समिर रेग्मी लाई ताम्रपत्र र दोसल्लाले अभिनन्दन गरिने छ ।

नेपाल लाटोकोसेरो तथा हुचील उत्सव किन ?
गैँडालगायतका वन्यजन्तुहरूकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि चासो बढेको हो । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरूमा यिनको अवैध कारोबार हुने गर्दछ । प्रकृतिका साथीहरू नामक संस्थाले ४६ वटा जिल्लामा १६ वर्ष अघि गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २००० वटासम्म लाटोकोसेराहरू तथा हुचीलहरू मारिने तथा विभिन्न मुलुकहरूमा अवैध रूपमा पठाइने गरेको भेटिएको थियो । यो संख्या हाल आएर १५०० भएको छ ।

यसका अतिरिक्त गुलेलीको प्रयोग गरि लाटोकोसेरो लगायत चराहरू मार्ने गरेको भेटिएको छ । अहिलेसम्मको अध्ययनले २५ प्रतिशत विद्यार्थीहरूले गुलेली प्रयोग गर्ने गरेको भेटिएको छ । मानिसहरूले लाटोकोसेरोको बच्चाहरूलाई गुँडबाट निकालेर पाल्ने गरेको पनि भेटिएको छ । यसका अतिरिक्त लाटोकोसेरोको वासस्थान विनाश समेत तीव्र रूपमा भइरहेको छ ।

नेपालमा कानुनी रूपमा लाटोकोेसेरोलाई पाल्न, दुःख दिन, बेच्न नपाइने बारे स्थानीयलाई जानकारी कम रहेको भेटिएको छ । साथै यसले कृषि क्षेत्रमा गर्ने महत्वपूर्ण योगदानबारे पनि उनीहरू अनभिज्ञ नै देखिएका छन् । स्थानीय तथा अन्य सरोकारवालाहरूलाई यसबारेमा जानकारी दिई लाटोकोसेरो तथा हुचील संरक्षणमा टेवा पुगोस भनेर यो उत्सव गर्न लागिएको हो ।

लाटोकोसेरोको के महत्व छ ?
मुसाहरूको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानको वास्तविक साथी भनिन्छ । यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरू) एक सिजनमा ३००० वटासम्म मुसाहरू खाने गर्छन् । मुसाबाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्दछन् ।

पर्यावरणलाई सन्तुिलत राख्न पनि यिनको मुख्य भूमिका रहन्छ । यिनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्दछ । लाटोकोसेरोसहित सम्पूर्ण चरामा आधारित पर्यापर्यटन विकासमार्फत मानवीय जिविकोपार्जनमा समेत सहयोग पुग्दछ । यिनीहरूको आवाजले साँझ परेको तथा बिहान भएको संकेत समेत गर्दछ । धार्मिक हिसाबले समेत लाटोकोसेरोहरूलाई देवी लक्ष्मीको वाहन मानिन्छ ।

लाटोकोसेरो कस्तो चरा हो ?
लाटोकोसेरा प्राय राती तथा बिहान सक्रिय हुने शिकारी चरा हो । त्यसो त यसले दिउँसो पनि आँखा देख्छ । यिनीहरूकोे देख्ने तथा सुन्ने दुवै क्षमता अत्यन्तै राम्रो हुन्छ । यिनीहरूले रुखको टोड्को, भुइँमा तथा पहराहरूमा फुल पार्छन् र बच्चा कोरल्छन् । यिनको शरीरको तौल ३१ ग्रामदेखि लिएर ४ किलोसम्मको हुने गर्दछ ।

लाटोकोसेराको शरिर अत्यन्तै हलुका तथा नरम भुवाहरूले ढाकेको हुनाले उड्दाखेरि आवाज आउँदैन। यिनीहरूले आपm्नो टाउकोलाई एकापट्टिमात्रै पनि २७० डिग्रीसम्म घुमाउन सक्छन् । नेपालमा यिनीहरूको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । यिनको संख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरू अभिलेख गरिसकिएको छ जसमध्ये ९ प्रजातीहरू नेपालमा दुर्लभ मानिन्छन् । यसमध्ये एकवटा प्रजातीहरूलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन् । विश्वमा करिब २६० प्रजातीका लाटोकोेसेराहरू पाइन्छन् ।

कसरी पुग्ने उत्सव स्थल ?
उत्सव स्थल (जलजला गाँउपालीका(५,लेखफाँट, लोप्रे) पर्वत जिल्लामा पर्ने भए पनि म्याग्दी जिल्लाको सदरमुकाम बेनी हुदैं पुग्न सकिन्छ । पर्वत बेनी मल्लाज चोकबाट फोर ह्विल जिप वा दुई पाङग्रेबाट करिब २ घण्टामा मल्लाज हुदैं यो ठाँउमा पुग्न सकिन्छ । बेनीबाट उत्सव अवधिभर सहजहोस भनेर नियमीत जिपहरूको व्यवस्था गरिएको छ । नेपालका मुख्य शहरहरूबाट वेनीसम्म बसहरू चल्छन् । पोखरा स्थीत बागलुङ बसपार्कबाट बेनी सम्मको लागि टेक्सिहरू पनि उपलब्ध छन् । महोत्सवको लागि भनेर लोप्रे गाँउमा अस्थाई होमस्टेको व्यवस्था गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics