श्रमदान गरेर बाँझो बगर यसरी भयो करेसाबारी

म्याग्दी - म्याग्दीको मङ्गला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रूपान्तरण गरेका छन् ।

मङ्गला गाउँपालिका-२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायामका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको बताए ।

‘कृषि र प्राविधिक शाखाका कर्मचारीको आवास भवन परिसरको यो बगर पहिले झाडी थियो । झाडी फाँडेर खनजोत गरी करेसाबारी बनाएका हौँ’, उनले भने, ‘करिब दुई रोपनी क्षेत्रफल बाँझो जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरेका छौँ ।’ शारीरिक व्यायाम, फुर्सदको समय सदुपयोग, उत्पादन वृद्धि र घरायसी तरकारीमा आत्मनिर्भर बन्नका लागि सन्देश प्रवाह गराउन गत वैशाखमा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले श्रमदान अभियान सुरु गरेका थिए ।

अधिकृत पौडेलको अभियानमा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष पेमा अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र बाबियाचौरका बासिन्दाले साथ दिएका छन् । फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारी कुटो कोदालो हातमा लिएर करेसाबारीमा काम गरेको भेटिन्छन् ।

बर्खायाममा सिमी, लौका खेती भएको थियो । हिउँदमा बन्दा र काउली उत्पादन हुन थालेको छ । प्याज, लसुन, धनियाँ र साग खेती गरिएको छ । कार्यालय समयबाहेकको साँझ, बिहानको फुर्सद, शनिबार र अन्य सार्वजनिक बिदाका दिन करेसाबारीमा श्रमदान गर्ने गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाले बताए ।

करेसाबारीको डिलतर्फ घेराबार गर्न गाउँपालिकाले रु ३७ हजार खर्च गरेको छ । अन्य सबै काम श्रमदानबाट गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए । प्रत्येक शनिबार बिहान ७ देखि १० बजेसम्म श्रमदानका लागि सहभागी हुन आग्रह गरिएको छ ।

उत्पादन भएको तरकारी जनप्रतिनिधि र कर्मचारीले उपभोग गर्दछन् । घरायसी उपभोगका लागि आफैँ तरकारी उत्पादन गर्नुपर्ने सन्देश दिन खोजिएको कृषि प्राविधिक बानियाले बताए । प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी खेती गरिएको हो । रोग किरा नियन्त्रणका लागि पनि जैविक विषादीको प्रयोग गरिएको करेसाबारीलाई प्रदर्शनी स्थलको रूपमा विकास गर्ने योजना रहेको छ ।

व्यावसायिक तरकारी खेतीबाट आयआर्जनका अलावा करेसाबारी बनाएर घरायसी उपभोगका लागि तरकारी खरिद घटाउन सकिन्छ । व्यायामका लागि करेसाबारीको काम गर्दा स्वस्थ र शारीरिक तन्दुरुस्त हुने अनुभव जनप्रतिनिधि र कर्मचारीले सुनाए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics