कालीगण्डकीदेखि अयोध्या लगिएका शिलाबाट किन बनाइएन मूर्ति ?

काठमाडाैं - सोमबार भारतको अयोध्यामा राम मन्दिरमा राखिएको मूतिमा प्राणप्रतिष्ठा भयो । उक्त मन्दिरमा मूर्ति बनाउन भनेर कालीगण्डकी नदीबाट शिला लगिएको थियो । मन्दिर बन्न थालेपछि गत फेब्रुअरीमा नेपालको कालीगण्डकी किनाराबाट दुईवटा शिलाहरू अयोध्या पुर्‍याइएका पनि थिए।

म्याग्दीको बेनी नगरपालिका -६ ठूलोबगरस्थित कालीनदी किनाराबाट त्यसबेला १४ र २७ टनका दुईवटा शिलाहरू जनकपुरस्थित जानकी मन्दिरमार्फत् अयोध्या पठाइएको हो। सुरुमा ती शिलाबाट मूर्ति बनाउने भनिएको थियो। तर, बनाइएन ।

मूर्ति कुद्न ती शिलाहरू “उपयुक्त नभएकाले” त्यत्तिकै राखिएका विवरणहरू आएका थिए। कतिपय भारतीय सञ्चारमाध्यमले राम मन्दिरस्थित केही सन्तहरूले कालीनदीको शिला शालिग्राम बराबरकै हुने भएकाले त्यसलाई फुटाउन हुँदैन भन्ने तर्क गरेपछि पनि मूर्ति नबनाइएको भन्ने खालका समाचारहरू लेखेका थिए।

यद्यपि शिला पठाउने तथा पछि शिलाको प्राविधिक जाँच गर्ने क्रममा अयोध्यासमेत पुगेका नेपाली प्रतिनिधिहरूका अनुसार मूर्तिकारले ‘त्यस्तो शिलामा बनाउन सम्भव नहुने’ बताएपछि अन्य शिलाहरूमा मूर्ति कुँदिए। उनीहरूका भनाइमा १४ टनको शिलालाई शालिग्रामस्वरूप मानिएकाले २७ टनको शिलामा मूर्ति कुँद्ने प्रयास गरिएको थियो।

तर त्यो उपयुक्त नहुँदा अहिले दुवै शिलालाई राम मन्दिर निर्माणस्थल नजिकै राखिएको उनीहरू बताउँछन्। भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार राम मन्दिरको गर्भगृहमा राख्नका लागि उक्त देशकै विभिन्न स्थानबाट ल्याएका पत्थरहरूबाट तीनवटा मूर्ति बनाइए। तीमध्ये उपयुक्त एकलाई छानेर गर्भगृहमा राखियाे र साेमबार पुजा गरियाे ।



शिला कहाँ छन्  ?
नेपालबाट लगिएका शिलाको मूर्ति नबनाइएपछि ती शीलाहरूलाई कहाँ राखिएको छ र ती पत्थरको उपयोग कसरी गरिन्छ भनेर नेपाल र भारतका अधिकारीहरूसँग कुराकानीको प्रयास गरेको थियो। त्यस क्रममा शिलाको पछिल्लो अवस्थाबारे यकिन जानकारी पाउन सकिएन तर नेपालबाट शिला पठाउने प्रस्ताव गर्ने पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले आफूले शिला सुरक्षित राखिएको जानकारी पाएको बताए।

“ती शिलाबाट मूर्ति बनाउन उपयुक्त भएन त्यसैले राम मन्दिर बनिरहेको ठाउँमै सुरक्षित राखिएको जानकारी मैल पाएको छु,” उनले भने। “मूर्ति नबने पनि ती पवित्र शिलालाई मन्दिर परिसरमा मानिसहरूले पूजाअर्चना गर्नेगरी सम्मानित रूपमा स्थापित गरिनेछ भन्ने कुरा आएको छ।”

जनकपुरस्थित जानकी मन्दिरमा विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट जन्ती आउने चलन छ। सोही परम्पराको निरन्तरताको रूपमा भारतको अयोध्यामा राम मन्दिर निर्माण गर्न त्यहाँको सर्वोच्च अदालतले बाटो खुला गरिदिएपछि नेपालले कालीगण्डकीको शिला पठाउने प्रस्ताव गरेको थियो।

ती शिलाहरू पठाइएको बेनी नगरपालिकाका मेयर सुरत केसी कांग्रेस नेता निधिकै पहलमा शिला पठाइएको र मूर्ति बनाउने भनेरै नेपालबाट अयोध्या लगिएको बताउँछन्। यद्यपि ती शिलाका मूर्ति नबनेको थाहा पाउँदा आफूहरूलाई दु:ख लागेको उनले बताए।

“मैले त मूर्ति बनाउन लगेका शिला मूर्ति नबनाउने भए फिर्ता पठाउनुपर्छ भनेर पनि त्यसरी शिला पठाउने प्रस्ताव गर्ने व्यक्तित्वहरूलाई भनेँ। मूर्ति बन्न दबाव होस् भनेर भनेको तर पनि मूर्ति बनाइएनछ,” उनले भने। “मूर्ति बनेको भए हुन्थ्यो त्यो नभए पनि हामीले त्यसरी विदाइ गरेर पठाएका शिलाहरूलाई सम्मानपूर्वक स्थापित गरियोस् भन्ने हाम्रो कुरा हो।”

शिला पठाउने निर्णय
नेपालले प्रस्ताव गरेपछि अयोध्याको राम मन्दिर निर्माण समितिले जानकी मन्दिरलाई शिला उपलब्ध गराउन आग्रह गर्दै पत्र लेखेको थियो। त्यसैका आधारमा ती शिलाहरू भारत पठाउनका लागि नेपालको सङ्घीय सरकारको मन्त्रिपरिषद् तथा गण्डकी प्रदेश मन्त्रिपरिषद्‌ले औपचारिक निर्णय गरेका थिए।

त्यसपछि गण्डकी प्रदेश सरकारको समन्वयमा जनकपुरस्थित जानकी मन्दिर व्यवस्थापनले अयोध्यामा ती शिलाहरू पठाएको हो। राम मन्दिर निर्माणको रेखदेख गरिरहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका पदाधिकारीहरू पनि नेपाल आएर केही दिन बसेर पहिचान गरेपछि मात्र ती शिलाहरू अयोध्या पठाइएको थियो।

शिलाहरू अयोध्या पठाउँदा त्योसँगै एउटा ताम्रपत्र पनि पठाइएको अधिकारीहरूले बताएका थिए। एउटै बेहोराका ताम्रपत्रहरू बनाएर एउटा सङ्घीय सरकार मातहत, एउटा गण्डकी प्रदेश सरकार मातहत र एउटा जानकी मन्दिर मातहत राखिएको थियो भने एउटा अयोध्या पठाइएको थियो।

ताम्रपत्रमा पनि प्रतिमा बनाउन शिला पठाइएको उल्लेख छ। गत वर्ष माघ १२ गतेको मिति भएको ताम्रपत्रमा लेखिएको छ, “नेपाल सरकारको सहमति एवम् गण्डकी प्रदेश सरकारको निर्णय बमोजिम श्रीरामलीला प्रतिमा निर्माणका लागि भारतको अयोध्या धामलाई उपलब्ध गराउने गरी कालीगण्डकी नदी आसपासको क्षेत्र (बेनी नगरपालिका - ६ ठूलोबगर) म्याग्दीवाट दुई थान शिला गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री खगराज अधिकारीज्यूबाट जनकपुरधामस्थित जानकी मन्दिरलाई प्रदान गर्ने कार्य सुसम्पन्न भयो।”

शिलाबारे सरकारी अधिकारी के भन्छन् ?
सुरुमा मूर्ति बनाउन भनेर पठाइएका र ताम्रपत्रमा पनि त्यसबारे उल्लेख भएको तर अयोध्यामा पुगेपछि मूर्ति नबनाइएकोबारे शिला पठाउने गण्डकी प्रदेश सरकारकी सामाजिक विकासमन्त्री सुशिला सिंखडालाई सोध्दा उनले त्यसबारे अनभिज्ञता व्यक्त गरिन्। उनले भनिन्, “त्यसबारे अहिले मलाई जानकारी छैन पछि बुझेर खबर गर्छु नि !”  जनकपुरस्थित जानकी मन्दिरका पुजारी रामरोशन दासलाई पनि त्यसबारे सोधेको थियो। यद्यपि उनले नेपालबाट लगिएका शिलाको पछिल्लो अवस्थाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। “यसबारे मलाई केही थाहा छैन,” उनले भने।

शिलाको उपयोग कसरी गरिएला ?
नेपालबाट लगिएका शिलाबाट मूर्ति नबनाइए पनि ती पूज्य हुने र मन्दिर परिसरमा शालिग्रामस्वरूप स्थापित हुने आफूहरूले बुझेको कतिपय नेपाली प्रतिनिधिहरू बताउँछन्। नेपालबाट शिला पठाउने कार्यमा सक्रिय भएका र उक्त शिलाको प्राविधिक परीक्षण गर्ने क्रममा अयोध्यासमेत पुगेर अवलोकन गरेका कुलराज चालिसेले चाहिँ मन्दिर परिसरमा ती शिलाहरू राखिने जानकारी आफूले पाएको बताए।

उनी शालिग्रामको सांस्कृतिक महत्त्वबारे विद्यावारिधि गरेका व्यक्ति हुन्। उनका अनुसार श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका पदाधिकारीहरूले उनलाई त्यस्तो जानकारी दिएका हुन्। “उनीहरूका अनुसार सानो शिलालाई शालिग्रामस्वरूप राखिने छ र ठूलो शिलालाई त्यसको आधार बनाइने छ,” उनले भने। यद्यपि उनले दिएको विवरणको बीबीसीले ट्रस्टका पदाधिकारीबाट पुष्टि गराउन सकेको छैन।

ट्रस्टका महासचिव चम्पत रायसँग पटकपटक गरेको सम्पर्कको प्रयास सफल हुन सकेन। चालिसेका भनाइमा नेपालबाट एकजना जियोलोजिस्टसहित उनीहरूले गत जून महिनामा अयोध्या पुगेर पनि शिलाको अवस्थाबारे हेरेका थिए। त्यस क्रममा मूर्तिकारहरूले ठूलो शिलामा मूर्ति कुद्ने प्रयास गर्दा त्यो धेरै कडा भएर नसकेको पाइएको उनको भनाइ छ। उनी ती शिलाहरूलाई पूज्य र सम्मानजनक रूपमा राखिने विश्वास आफूलाई रहेको बताउँदै तर मूर्ति बनाउन भनेर पठाइएका शिला अर्कै प्रयोजनमा प्रयोग भएकोबारे सरकारले जानकारी अद्यावधिक गर्नुपर्ने बताउँछन्।

उनले भने, “नेपाली करदाताको पैसा खर्च गरेर जनकपुरस्थित जानकी मन्दिर व्यवस्थापनमार्फत् अयोध्यास्थित मन्दिरलाई गोडधुवा उपहारस्वरूप शिला उपलब्ध गराइएको हो। छोरीलाई उपलब्ध गराइएको गोडधुवा फिर्ता माग्न सकिँदैन। तर गोडधुवाको सदुपयोगका सन्दर्भमा माइतीपक्ष सूसुचित हुनुपर्छ।”

“गण्डकी प्रदेश सरकारले काठमाण्डू, जनकपुर, अयोध्या र पोखरामा व्यवस्थापन गरेको ताम्रपत्रअनुसार कसैले अनुसन्धान प्रतिवेदन बनाए भने उनीहरूको प्रतिवेदन प्रभावित हुन्छ। त्यसैले शिलाको उपयोगका सन्दर्भमा जानकी मन्दिर व्यवस्थापन समिति, गण्डकी प्रदेश सरकार र बेनी नगरपालिका अद्यावधिक भएर दस्तावेज पूर्ण गर्न आवश्यक छ।”

यद्यपि चालिसे मूर्ति बनेको भए शिलाको पहिचान 'मूर्तिकै रूपमा मात्र भएर मेटिनसक्ने थियो तर शिलाका रूपमा राख्दा त्यसको महत्त्व अझ बढ्ने' बताउँछन्। उनले भने, "उहाँहरूले जस्तो सम्मानका साथ देवशिला ल्याइएको थियो त्यस्तै सम्मानका साथ राखिने बताउनु भएको छ।"



राम मन्दिर निर्माणको निर्णय
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्ट २०२० मा अयोध्यामा राम मन्दिरको शिलान्यास गरेका थिए। वास्तवमा सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको थियो, त्यसपछि हिन्दू पक्ष र मुस्लिम पक्षबीच पहिला इलाहाबाद हाइ कोर्ट र पछि सर्वोच्च अदालतमा लामो कानुनी लडाइँ चल्यो।

अन्त्यमा सर्वोच्च अदालतले नोभेम्बर २०१९ मा एक ऐतिहासिक फैसला सुनाउँदै अयोध्यामा विवादित भूमिमा मन्दिर बनाइनेछ भन्ने आदेश दियो। साथमा अदालतले केन्द्र सरकारलाई नयाँ मस्जिदको निर्माण गर्न सुन्नी वक्फ बोर्डको पाँच एकडको वैकल्पिक जमिन उपलब्ध गराउनू भन्ने निर्देशन पनि दियो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics