गैंडा मारेको ३ वर्षपछि पक्राउ

चितवन– चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरा रहेका छन् ।

उनलाई तीन वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बोहोरालाई मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नं २ चौकीटोलबाट पक्राउ गरिएको थियो ।

विसं २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र विसं २०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानी मारेर खाग काटी लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

ती घटनामा बोहोरासहित अन्य २४ जना प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए । उक्त घटनामा संलग्न बोहोरासहित २१ जना पक्राउ परिसकेका छन् भने अन्य तीनजना फरार रहेका छन् ।

पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको उनले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics