किन बारम्बार भासिन्छन् राजधानीका सडकहरू ?

काठमाडौं – नयाँ बानेश्वरमा शुक्रबार मध्यान्न गुडिरहेको बा ३ ख ३७६२ नम्बरको बस सडकमै भासियो । पछाडी बयाँ तर्फको टायरको आधा बढी भाग सडकमा खाल्डो परेर भासिएपछि बस कोटियो । तत्काल यात्रुलाई ओरालियो र स्काभेटरको सहायतामा बस निकालियो । उक्त बस रत्नपार्क तर्फ अघि बढ्दै थियो ।

२०७८ साल कात्तिक दोस्रो साता माइतीघर–तीनकुने सडक खण्डको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र यातायात व्यवस्था विभाग कार्यालय अगाडिको सडकमा ठूलो खाल्डो पर्यो । अन्तर्राष्ट्रियस्तरको निर्माण गरिएको भनिएको सो सडकमा एउटा पूरा लेन नै ढाक्ने गरी पाँच मिटर लम्बाइ, त्यत्ति नै मिटर चौडाइ र करिब पाँच फिट गहिरो खाल्डो परेको देखियो ।

त्यसको एक वर्षअघि २०७७ असारमा मध्यबानेश्वरको मुख्य सडककै बीचमा गाडी नै छिर्न सक्ने ठूलो खाल्डो पर्यो । यसरी बारम्बार राजधानीका मध्य सडक नै भासिरहेका छन् । कहिले घर कोल्टिन्छन् त कहिले पुल भासिन्छन् । यो क्रम पछिल्लो समय अझै बढेको छ ।

राजधानीमा स–साना रूपमा सडक भासिने, सडकमै खाल्डो पर्ने घटना प्रायः दैनिक नै हुने गरेको पाइन्छ । आखिर किन भासिन्छन् राजधानीका सडकहरू ? विज्ञको जवाफ छ, ‘जमिनमुनिको पानीको अत्याधिक दोहन नै मुख्य कारण हो ।’

गुणस्तरहीन सडक र खानेपानी पाइप तथा ढल निर्माणको काम हुनु तथा दिनहुँ भइरहेको जमिनमुनिको पानीको दोहन, सडक भासिनु र सडकमा खाल्डो पर्नुको मुख्य कारण रहेको सम्बन्धित विज्ञहरूको धारणा छ । भूगर्भविद् रामहरि शर्माले यस अघिनै प्राकृतिक रूपमा रहेको जमिनको सतहलाई यथास्थितिमा राख्न जमिनमुनिबाट निकालिने पानी र जमिनमा छिर्ने पानीबीच सन्तुलन नहुँदा यस्ता समस्या आउने गरेको बताएका थिए ।

‘निकालिने पानी र छिर्ने पानीको मात्रा बराबर भएको अवस्थामा मात्र प्राकृतिक रूपमा रहेको जमिनको सन्तुलन कायम रही जमिन यथास्थितिमा रहन सक्छ । पानी जति मात्रामा जमिनमा गएर बस्यो त्यति मात्र तानियो भने जमिनको प्राकृतिक सन्तुलन कायम रहिरन्छ तर अहिले धेरै तानिने र थोरै ‘रिचार्ज’ भइरहेको अवस्था छ,’ शर्माको तर्क थियो ।



जमिनको प्राकृतिक सन्तुलन कायम गर्न मुख्यत उपत्यकाको हकमा अहिलेको अवस्थामा जमिनबाट पानी तान्ने कम र बढी ‘रिचार्ज’ हुने अवस्थाको सिर्जना गर्नुपर्ने शर्माको सुझाव छ । दैनिक करोडौँ लिटर पानी जमिनमुनिबाट निकालिन्छ तर त्यसको सट्टामा ‘रिचार्ज’ नहुनुले हाम्रो जमिनमुनिको माटोको भाग नै भासिँदै गएको विज्ञ बताउँछन् ।

नेपाल सरकारका पूर्वसहसचिव तथा वरिष्ठ इन्जिनियर राजेन्द्र शर्माले सडक तथा ढलको गुणस्तरहीन निर्माण तथा निर्माणको क्रममा हुने गरेको हेलचेक्र्याइँ नै सडक भासिनु र सडकमा खाल्डो पर्नुको मुख्य कारण रहेको बताउछन् । ‘सडकमुनि ढल बनाउँदा पाइप-पाइपबीच र पाइप र भड्खालोबीच हुने जोर्नी राम्रोसँग ‘सिल’ नहुँदा पानी चुहिने गरिन्छ । यसरी चुहिने पानीले तलको माटो, बालुवालाई बगाउँदा त्यहाँ खाली ठाउँ हुन्छ र माथिबाट सवारीसाधन गुड्दा सडक भासिने र भड्गालो पर्ने गर्छ,’ उनी भन्छन् ।

राजधानीको धेरैजसो सडक भासिने र भड्खालो पर्न सक्ने सम्भावना अझै रहेको विज्ञ बताउँछन् । प्राविधिक ज्ञान नभएका कामदारको भरमा निर्माण कार्य हुनु, निर्माण कार्यको अनुगमन नहुनुजस्ता हेलचेक्र्याइँले गुणस्तरहीन निर्माण हुँदा यस प्रकारको समस्या आउने गरेको छ । जमिनमुनि खानेपानी तथा ढलका पाइपहरूको जडान ‘वाटर टाइट’ र ‘सिल’ गरेको हुनुपर्छ । तर, यस्ता नगरिँदा समस्या थपिने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics