सूर्योदय नगरले चिया टिप्न हाते मेसिन प्रदान गर्ने

इलाम– गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका– १ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ रुपैयाँ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ ।

किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन् । ‘चिया टिप्ने हाते मेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौँ’, अधिकारीले भने ।

सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हाते मेसिन वितरण गर्दैछ । उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हाते मेसिन वितरण गर्न लागेको नगरप्रमुख रणबहादुर राईले बताए ।

‘यस वर्ष हाते मेसिन ५० प्रतिशत अनुदानमा दिँदैछौँ । हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौँ’, नगरप्रमुख राईले भने, ‘यसले हाम्रो चियाको भविष्य बिग्रन्छ । चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ । तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन ।’

किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र सूर्योदय नगरपालिकाको साझेदारीमा किसानले ५० प्रतिशतमा हाते मेसिन प्राप्त गर्न लागेका हुन् । ‘त्यो मेसिन पट्रोल र डिजेलले होइन ब्याट्रीबाट चल्छ । अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गर्न लागेका हौँ’, उनले भने ।

एउटा व्यापारीले व्यापार परिवर्तन गर्न जति सजिलो छ, किसानले खेती परिवर्तन गर्न नहुने भन्दै उनले चियाको दीर्घकालीन समाधान नभए यहाँका किसानलाई समस्या हुने बताए । ‘व्यापारीलाई कहिल्यै घाटा हुँदैन । उसले आफ्नो व्यापार परिवर्तन गर्न सक्छ । तर किसानले सजिलै चियाखेती परिवर्तन गर्न सक्दैन । ठुलो घाटा भनेको किसानलाई हुने हो । त्यसैले हामी सचेत बनेर गुणस्तरीय चिया टिपौँ’, उनले भने ।

सूर्योदयको मात्र नभई समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने र आवश्यक अनुदान उपलब्ध गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने राईले बताए ।

चिया बिक्री नहुनुको कारण उत्पादन गुणस्तरीय नभएर हो । किसानले पाएका दुःखमा समाजसेवी, अभियन्तालगायत सबैले साथ दिनुपर्ने रार्ई बताउँछन् ।

सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायतका किसानले उत्पादन गरेको हरियो पत्तीसमेत प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ ।

नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती लगाइएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिकालाई चियाको राजधानी नै भन्ने गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics