‘रूख काट्दा मात्रै बाँदर नियन्त्रण हुने हो वडाध्यक्ष ज्यू ?’

पोखरा – पोखरा महानगरपालिका – १९ को वडा क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै बाँदर धपाउन रूख नै काट्ने योजनामा वडा लागेको छ । जसलाई वाडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियान नामै दिएका छन् ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन स्थानीयलाई निर्देशन दिए । उक्त सूचना अहिले सामाजिक सञ्जालमा भाइरल छ । त्यहाँ धेरैले प्रश्न गरिरहेका छन्, ‘यो अभियान ठिक छ ? औंलामा रोग लागे हातै काट्ने वडाध्यक्ष ज्यू ?’

सूचनामा साविक लामाचौर पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित क्षेत्र भएको र प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेको हवाला दिंदै १० दिनभित्र सबै रुख काट्न निर्देशन दिइएको छ ।

‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउन’, वडाध्यक्ष पाण्डेले सूचनामा भनेका छन्, ‘साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ ।’

वडाध्यक्ष पाण्डेले तत्कालीन लामाचौर–पुरञ्चौरको घार्मीडाँडा क्षेत्रमा वनजंगल बढी भएको र मानव बस्ती कम हुँदा बाँदरले दुःख दिएको बताए । ‘रुखैरुख बढी हुँदा बस्ती कमजोर भयो । बाँदर धेरै भएर अहिले घरमै आउन थाले’, उनले अनलाइनखबरसँग भने, ‘मान्छेले धपाएर पनि हटाउन नसकिने भयो ।’

वडाध्यक्ष पाण्डेले उक्त अभियानअन्तर्गत आफ्नो पुर्जामा भएको रुखमात्रै काट्न भनिएको प्रष्टीकरण दिएका छन् । यद्यपि, उनले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख गरिएको छैन ।

हाललाई आफ्नो पुर्जामा भएको उत्तिस, चिलाउनेलगायतको रुख काट्न भनिएको वडाध्यक्ष पाण्डेले बताए । तत्कालीन समयमा वनविनास रोक्न उत्तिस, चिलाउनेलगायतको रुख रोप्दा काफललगायतको फलफुलको बिरुवा मासिएको उनको दाबी छ ।

वडाध्यक्ष पाण्डेले कटान गरिएका रुख बिक्रिवितरण गर्न भने नपाइने बताए । उनले वडाले चलाएको अभियानअन्तर्गत कटान भएका रुख व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने तर बिक्रिवितरण भएको पाइए वन कार्यालयले कारबाही गर्न सक्ने सुनाए ।



नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics