वनको जग्गा अतिक्रमण गर्ने ३५ विरुद्ध मुद्दा दर्ता

बारा – वनको जग्गा अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका ३५ जना विरुद्ध जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको छ । यसमा बारा निजगढस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा समेत छन् ।

निजगढ नगरपालिका –२ सिगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा समेतको संलग्नतामा वनको २० हेक्टर जग्गा अतिक्रमण भएको आरोपमा २०७३ साल असार २० गते अख्तियारमा उजुरी परेको थियो । त्यसको ४ वर्षपछि २०७७ साल असार ११ गते अख्तियारले र २०७९ साल पुस २१ गते राष्ट्रिय सतर्कता केन्द्रले डिभिजन वन कार्यालय बारालाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो ।

सोही क्रममा गत पुस २८ गते डिभिजन वन कार्यालयले अध्यक्ष थापालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । अनुसन्धानका क्रममा अध्यक्ष थापाले झण्डै २० हेक्टर राष्ट्रिय र सामुदायिक वनको जग्गा अतिक्रमण गरी गुम्बा, मन्दिर, विद्यालयजस्ता संघ–संस्थालाई वितरण गरेको, एक बिगाह एक कठ्ठा जग्गा विभिन्न व्यक्तिलाई बेचबिखन समेत गरेको खुलेको हो ।

अतिक्रमति वनको जग्गामा व्यक्ति तथा संघ–संस्थाले भौतिक पूर्वाधार निर्माण गर्नुका साथै केराखेती गर्दै आएका थिए । धेरै जग्गा त्यसै वडामा रहेको लोकप्रिय आधारभूत विद्यालयको नाममा राखेर अध्यक्ष थापाले किनबेच समेत गरेको देखिएको छ ।

जग्गा अतिक्रमणमा सलग्न ५२ जनाविरुद्ध डिभिजन वन कार्यालयले जिल्ला अदालत बारामा मुद्दा पेश गरेकोमा २ जनाको मृत्यु भइसकेको र केहीको हकमा अभियोग पुष्टि हुने प्रमाण नदेखिएपछि अध्यक्ष थापा समेत ३५ जना विरुद्ध अदालतले मुद्दा दर्ता गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics