बाँदर धपाउन सिन्धुपाल्चोकमा रूख काट्ने निर्णय

चौतारा – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ।

त्रिपुरासुन्दरी गाउँपालिका-३ का वडाध्यक्ष शिवकुमार कार्कीले सूचना जारी गरी फागुन महिनाभित्र रुख काट्न र झाडी सुधार गर्न आह्वान गरेका छन्। उनले यो काममा सहयोग पुर्‍याउन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीलाई अनुरोधसमेत गरे।

यसअघि चौतारा साँगाचोकगढी नगरपालिका–११ ले पनि बाँदरको आतङ्क नियन्त्रण गरेर बालीनाली जोगाउन खेतबारीका रुख कटान गर्ने अभियान चलाएको छ। बाँदरलगायत वन्यजन्तु धपाउन प्रहरी परिचालन गर्दासमेत केही सीप नलागेपछि बाध्य भएर रुख कटान गर्ने अभियान चलाइएको वडाध्यक्ष रोशनराज गिरी बताउँछन्।

गाउँमा युवा नभएका र वृद्धवृद्धा, महिला र बालबालिकाले सबै फँडानीको काम गर्न नसक्ने गुनासो वडा कार्यालयमा आएकाले वडा कार्यालयले नै रुख काट्ने र झाडी फाँड्ने निधो गरेको उनको भनाइ छ।

यसअघि पनि वडा कार्यालयले बाँदरबाट बालीनाली जोगाउन ठाउँठाउँमा जाल राखेको थियो। बँदेलबाट मकैलगायत बाली जोगाउन विद्युतीय तारबारसमेत लागाएको वडाध्यक्ष गिरीको भनाइ छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics