पर्यटन र धार्मिक आस्थाको केन्द्र ताप्लेजुङको पाथीभरा

ताप्लेजुङ – प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय क्षेत्र पाथीभरा ताप्लेजुङ जिल्लामा पर्छ । अन्य जिल्ला र स्थानमा पनि पाथीराका शाखा मन्दिर निर्माण भएका छन् । यो मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो ।

पाथीभरा ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिनको पैदल हिँडेर पनि पुगिन्छ ।

यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ‘मुक्तुवुङ’ भनेर चिन्छन् । लिम्बूभाषामा ‘मुक्तु’को अर्थ शक्ति वा बल, ‘वुङ’को अर्थ बोट भन्ने जनाउँछ । अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्छन् ।



उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन् । भनिन्छः– परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए ।

त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिइ आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिइन् । आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए ।

बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे ।

यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर, बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्छन । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ ।

आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ । जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।



विश्वास आस्था एवं अलौकिक शक्तिकी देवी
माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिंगको भेदभाव छैन र बन्देज छैन । ‘मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ’ भन्ने जनधारणा रहिआएको छ ।

पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाईको भोग चढाउँछन् । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्छन् ।



पाथीभरा देवी उत्पतिस्थल
फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि पाथीभरादेवीको मन्दिर रहेको डाडाँको पश्चिमपट्टीको मुखमा फुत्त आईपुगिन्छ । त्यसबेला आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरू साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्छ ।

कुम्भकर्णको कुमसँग आफ्नो कुम ठोकिएलाकी भन्ने भान यहाँ हुन्छ । जतिसुकै थाके पनि वुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्छ । कञ्चनजंघाको भिरालो फाँटहरूमा चिप्लेटी खेल्ने रहर जागेर आउन सक्छ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरूको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाईं स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ, भावशून्य भएर आफैं–आफैंमा हराउन सकिन्छ । भनिन्छ -यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबैभन्दा अग्लो भगवतिको प्रतिमा हो ।

देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । यदि केही समय निकाल्न सकिन्छ भने पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यमरामा कैद गर्ने अवसर मिल्छ ।



पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरू
कञ्चनजंघा (M) (सेवालुङ) ८५८६ मि.
कञ्चनजंघा (C) ८४८२ मि., कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि.
काङबाचेन ७९०३ मि.
कञ्चनजंघा (S) ८४७६ मि., मकालु ८४६३ मि.
लोत्से ८५१६ मि., नोत्से ७८५५ मि.

पाथीभरा धाममा कसरी जाने ?
पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न (High Altitude Sickness) र न्युनताप (Hypothermia) बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ ।

पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोड बाट इलाम-फिदिम- हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार - तल्लो फेदी - उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ। अन्य मार्गमा धरान बाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुर बाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ।

जिल्लाको सदरमुकाम फुङ्गलिङ यसरी पुग्न सकिन्छ
हवाई मार्ग ः काठमाडाैं - ताप्लेजुङ (सुकेटार)
सडक मार्ग (२३७ कि.मी.) ः बिर्तामोड - ताप्लेजुङ (फुङ्गलिङ) ईलाम, फिदिम हुँदै (बस -साधारण र डिलक्स तथा जीप)
पैदल यात्रा ः (धरान, धनकुटा हुँदै) बसन्तपुर गुफापोखरी — ताप्लेजुङ (फुङ्गलिङ) २ दिन

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics