हिउँ चितुवालाई ङिमाको पत्र : ‘अब आफैँ बोल ल’

‘नेचर प्यारोडी’

प्रिय हिउँ चितुवा, आरामै छौं ?
पक्कै आरामै होलाऊ भन्ने मेरो अपेक्षा छ । किनकी, तिमी अहिले विश्वको ध्यान तान्ने ठाउँ सदर चिडियाखाना जाउलाखेल ललितपुरमा छौ ।

सुनन, त्यहाँको मौसम जस्तो भए पनि केही दिन सहेर बस्नु है । पक्कै पनि तिमी हिउँ चितुवा हौं र तिमीलाई चिसो मौसम चाहिन्छ भनेर चिसो हावा एसीबाट दिएका होलान् । केही कथम् दिएनन् र ‘अहिले चिसो नै छ बाँच्छ’ भन्ने कर्मचारीलाई लाग्यो वा सोचे भने पनि धैर्य गर, आत्मबल बढाऊ र सहरीया हिउँ चितुवा बन्ने प्रयास गर ल । किनभने, तिमीले ती विज्ञको विज्ञतामा प्रश्न उठाएका छौं । अनी, विश्वलाई नै चकित पारेका छौं तराईमा फुत्त निस्किएर ।

हेर, म त हिमालमै छु नि । कहिले–काहीँ पहाड र तराई तिर झरेँ भने त हिउँदमा पनि गर्मी हुन्छ । तिमी हाम्रै नजिक बस्ने दुर्लभ प्राणी, कसरी तराईमा देखियौं हँ ? यसो हाम्रो घर–गाउँ सम्म मात्रै पनि झरेर भेँडा–च्याङ्ग्रा खाएको भए पनि यत्रो खैला बैला त हुन्थेन । विज्ञ र सरकारको ‘निद हराम्’ हुन्थेन । अहिले तिमीले यो कलिलै उमेरमा ती उमेरले परिपक्क वन्यजन्तु विज्ञहरू, सरकारका अधिकारी, वनका कर्मचारी र सुरक्षा निकायको अनुभव र ज्ञानको मिटर नाप्यौ । किताबमा मात्रै पढेर हिउँ चितुवाको विषयमा पीएचडी गरेकाहरूको दिमाखी नक्सा उतार्यौं । अनि, सबैलाई छक्क पार्यौ हिमालको नजिकै नभई पहाड भन्दा मुनीको समथर भू–भागमा देखिएर ।

मैले सुनेँ, अनि देखेँ पत्रपत्रिका, अनलाईन र टेलिभिजनमा तिमीलाई । अझै तिम्रा विषयमा सामाजिक सञ्जालमा सटिक अनुमानका झटारा धेरैले हानेका थिए । अहिले त सुन्दैछु ‘तिमी त हिउँ चितुवा पनि नहुन सक्छौं’ रे ! पहिले त तिमीलाई हिँडेर नै त्यहाँ पुगेको सम्म भन्न भ्याएछन् केही विज्ञहरूले । उनीहरूले सायद काठमाडौंमा बसेर नेपालको नक्सा हेर्दै ताप्लेजुङदेखि मोरङ सम्मको दूरी ज्यामीतीको स्केलले नापे होलान् । अनि, ‘विश्वमा यतिको दूरी त हिउँ चितुवाले एकै रातमा हिँडेको छ’ भन्ने रटेको कुरा भन्न भ्याए होलान् । हुन त नक्सामा त नजिकै पनि छ नि, सबैले पढ्न त पढेकै छन् ‘नेपाल सानु देश हो’ भनेर । तिनीहरूलाई थाहा नहुन सक्छ ताप्लेजुङको हिमाली क्षेत्रको एउटा गाउँबाट अर्को गाउँ पुग्न पनि एक दिन हिड्नुपर्छ भनेर । त्यसैले त भने होलान् ताप्लेजुङ देखि मोरङको तिमी भेटिएको स्थान नजिकै छ भनेर ।

प्यारु, तिम्रो त रौं र पुच्छर पनि छोटो छ रे त । कतै सहर घुम्न निस्कँदा अझै सुन्दर बन्ने सुरमा रौं र पुच्छार मिलाउन पार्लर त पसेनौं ? आजकल त पानी र चिकेन खान्छौं रे, हिमालमै हुर्केको भए पक्कै तिमीलाई खुवाईमा पनि स्वाद नपरेको होला । तर, पेट पाल, अझै तिमीले धेरैको परीक्षण खेप्नु छ, कठिन यात्रा भोग्नु छ । नयाँ अनुसन्धानका भन्दा पनि पुराना अनुमान र अनुसन्धानका बाँडी सुन्नु छ ।

हिमाल र पहाडका डाँडामा फुत्त–फुत्त उक्लने, ओर्लने तिमी अहिले पिँजडामा कुँजिएर बसेको देखेँ मायाँ लाग्यो । तर, अचम्म ! तिमी त हिउँ चितुवा भएर पनि बिरालो जस्तो व्यवहार देखाई रहेका छौं त । यसरी अनुसन्धान गर्नेलाई हैरान नबनाउन है । चितुवाको भेषमा बिरालो भन्लान् नि तिमीलाई ख्याल गर । केही दिनमा ठूलो बिरालो भनेर छाड्न पनि सक्छन्, यो नेपाल हो बुझ । तिमीलाई कसैले सानैदेखि पालेर हुर्काएको अनुमान धेरैको छ । जे भए पनि तिमी हिमालको गहना होऊ, सरकारले बुभ्mला भन्ने आसा मेरो छ । खै, अनुसन्धान र अध्ययन गर्न समिति नै बनाउने भनेर मच्चिएको सरकार कता हल्मलियो पत्तो छैन । न तिमी बोल्न सक्छौं, न सरकार बुभ्mछ तिम्रो कुरा । हुनत यहाँ जनताकै कुरा सरकार बुभ्mदैन ।

केही विज्ञले ‘हिमालको हिउँ चितुवा तराईमा कसरी आईपुग्यो उसैलाई थाहा होला’ पनि भनेछन् । तिमीहरू जस्ता आपत्मा परेका जनावर र पशुको कुरा नबुभ्mने र अनुसन्धान नगरी यसरी बोल्ने हो भने जनावरको विषयमा नपढी वा अध्ययनमा समय नखर्ची मानिसकै विषयमा पढेको र अनुसन्धान गरेको भए हुन्थ्यो नि है ? सबै कुरा फरर मान्छेले बोलिहाल्छन् । विज्ञ बन्न पनि सजिलो हुन्छ । तर, जे भयो सकियो । कुरा नकोट्याऔं ।

अब, तिमीलाई कहिले सम्म यसरी थुन्ने ? तिमी मानिसकै घरमा बसेर हुर्कीएको, तस्करी गरी त्यहाँ पु¥याइएको वा जंगलबाट बाटो बिराएको जे भए पनि अनुसन्धानमा किन ढिला ? म पनि सरकारलाई प्रश्न गर्छु । तिम्रो पक्षमा बोल्छु । मानिसले पालेर तिमीलाई यत्रो बनाएको भए तिमी जंगलमा सिकार गर्न त सक्दैनौं । विज्ञले भने झैं, त्यसो हो भने ‘म यतै बस्छु भन ल’ । अनि तिमी जंगलमै हुकेको भए चाँडै जंगल पुग्ने वातावरण सरकारले बनाओस्, अनि तिम्रो र हाम्रो देखा–देख हिमालमै होस् । मेरो कामना यति छ ।

आज लामो समय सम्म पनि तिमीलाई सानु पिँजडामा कोचेको देखेर यो पत्र लेखेँ । नेपालका विज्ञ र सरकारको काम देखेर त अझै धेरै नै लेखौं लागेको थियो । यति मात्रै भए पनि अब पढेर सरकार र विज्ञलाई सुनाऊ ल । यहाँ आफू बाँच्न आफैले संघर्ष गर्नुपर्ने रहेछ । हिमालमा हुने तिमी तराईमा देखिएर चकित पारेका छौं । अब एकपटक ‘मान्छे झैँ बोलेर’ अर्को चकित पारिदेऊ न । यहाँ हेरेर रमाउने मात्रै छन् । अनुसन्धान कस्ले गर्ने ?

उही तिमीलाई रात–दिन सम्झने तिम्रो गाउँले
ङिमा टाँसी शेर्पा
कञ्चनजंघा छेउ, ताप्लेजुङ

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics