फुरु काट्न खप्तड राष्ट्रिय निकुञ्ज पसेका ४ पक्राउ

बझाङ – फुरु काट्न खप्तड राष्ट्रिय निकुञ्ज भित्र पसेका ४ जनालाई सेनाले नियन्त्रणमा लिएको छ । उनीहरूलाई शुक्रबार राति निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने चारै जना पुरुष छन् । उनीहरूको परिचय खुलाइएको छैन । उनीहरू हुम्लाको नाम्खा गाउँपालिका–३ का बासिन्दा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका – २ मा पर्ने रानीढुङा मध्यवर्ती सामुदायिक वनक्षेत्रको हाँडेढुङाको खोलाको किनारमा उनीहरूलाई राति सात बजे तिर काठ काट्ने विद्युतीय आरा र बन्दोबस्तीका सामान सहित पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट सानो खालको विद्युतीय आरा, नौ वटा तिलाइलो रुखको फुरु (गाँठो) चारवटा स्पिलिङ ब्याग, वासुलो नाम गरेको ह्यामर, खाद्यान्नहरू, सलाई, लाईटर, र दुई वटा विद्युतीय आराको ब्लेड लगायत बन्दोबस्तीका सामानहरू बरामद गरिएको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।



बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पर्ने खप्तड निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाइने तिल्याइलो जातको रुखको गाँठो काटेर अवैध रूपमा विक्री वितरण हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न निकुञ्ज प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको पौडेले बताए ।

फुरु (गाँठो) काट्ने निहुँमा अन्य जडीबुटी तथा वन पैदावार चोरी शिकार समेत हुने सम्भावना हुने भएकोले यस तर्फ निकुञ्ज प्रशासन चनाखो रहेको उनले बताए । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पौडेलले बताए ।

फुरु तिल्याइलो रुखको गाँठोबाट बनाइने एक प्रकारको काठको भाँडा हो । फुरुको मुख्य बजार तिब्बत हो । तिब्बतीहरू यस्तो खालको काठको भाँडोमा खानेकुरा खाँदा खानेकुरामा हुने विषाक्त तत्त्वहरू निर्मूल हुने विश्वास गर्दछन् । तिब्बती बजारमा फुरुको आकार र बनावट हेरेर प्रतिगोटा २० हजार देखी २० लाख सम्ममा विक्री हुने गरेको व्यापारीहरू बताउँछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics