बढ्दो विषाधि प्रयोग र जलवायु परिवर्तनले ‘पशुपन्छीलाई सकस’

काठमाडौं — जलवायु परिवर्तन र बढ्दो विषाधिको प्रयोगले पशुपन्छीमा नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै ‘दोस्रो नेपाल चरा उत्सव–२०८०’ सकिएको छ । कावासोतीमा आयोजित उत्सवले दश बुँदे घोषणा–पत्र पनि जारी गरेको छ ।

घोषणा–पत्रमा प्राकृतिक सम्पदा, सिमसार क्षेत्रमा काम गर्दा अनिवार्यरुपमा विज्ञको सुझाव लिन अनिवार्य गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै, संरक्षणको कार्ययोजना बनाउँदा स्थानीय समुदायको ज्ञान, सीप र प्रविधिलाई आवश्यक्ता अनुसार प्रयोग गर्नुपर्ने, चराका उपप्रजातिको संरक्षणको लागि विशेष कार्यविधि बनाएर अनुसन्धानमा जोड दिनुपर्ने लगायत पनि उल्लेख छ ।

शुक्रबारदेखि आइतबारसम्म चलेको उत्सवमा देशभरका संरक्षणकर्मी, पन्छीविद् र वाइल्ड लाइफ फोटोग्राफर तथा सरोकारवालाको सहभागिता थियो । पोखरा पन्छी समाजले आयोजना गरेको उत्सवमा जटायु रेष्टुरेन्ट नवलपुर र बर्ड एजुकेसन सोसाईटी चितवन सहआयोजक थिए ।

विद्यमान चरा संरक्षणको कार्ययोजना पुर्णरुपमा कार्यान्वयन गर्नुपर्ने उत्सवको निष्कर्ष रहेको चराविद् एवम् जटायु रेष्टुरेण्टका संयोजक डिबी चौधरीले बताए । चरा र तिनका बासस्थानको संरक्षण, जनचेतना र पर्यटनको विकासको बारेमा छलफल र प्रदर्शनीस्टल राखिएको थियो ।

उत्सवमा पन्छी तथा जैविक विविधता क्षेत्रमा आवद्ध ३९ संस्थाका प्रतिनिधि, भारत, भुटान लगायत विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता थियो । चरा उत्सवको समापन गर्दै गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले चरा संरक्षणको लागि दिगो कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics