संरक्षण र जैविक विविधतामा तराईको भूपरिधि क्षेत्र संसारको ७ उत्कृष्ट स्थानमा
- नेचर खबर
काठमाडौं – संयुक्त राष्ट्र संघले संरक्षण र जैविक विविधताका पुर्नस्थापनाका हिसाबले संसारभरबाट गरिएको स्थान छनौटमा नेपालको तराई भूपरिधि क्षेत्र संसारको उत्कृष्ट सात स्थानमा पर्न सफल भएको छ ।
यसको घोषणा राष्ट्रसंघले केन्याको राजधानी नैरोवीबाट मङ्गलबार गरेको हो । राष्ट्रसंघले संरक्षणका विभिन्न मापदण्ड निर्धारण गरी विश्वभरका मुलुकले संरक्षणमा गरेको प्रयासहरूको अध्ययन, अनुसन्धान गरी छनौट प्रक्रिया थालनी गरेको थियो । संसारभरका सयौँ स्थानलाई पछि पार्दै नेपालको तराई भूपरिधि क्षेत्र उत्कृष्टमा पर्न सफल भएको छ ।
राष्ट्रसङ्घले उत्कृष्ट छनौटका लागि छुट्टै मापदण्ड निर्धारण गरेको थियो । संरक्षणका कामले विश्व समुदायलाई उल्लेख्य योगदान दिएको हुनुपर्ने, सरकार, समुदाय तथा अन्य सरोकारवालहरूको व्यापक सहभागिता भएको हुनुपर्ने, बहुसङ्ख्यक समुदायलाई लाभ दिएको हुनुपर्ने, विगतमा खण्डीकृत र क्षयीकरण भएको क्षेत्रलाई पुनर्जीवन दिएको हुनुपर्ने, संरक्षणको कामले दुई वा त्रिदेशीय प्रभाव र लाभ दिएको हुनुपर्ने, संरक्षणका बहुपक्षीय सिद्धान्त, विधि र प्रक्रिया अवलम्बन भएका हुनुपर्ने, प्रकृति र मानव जातिलाई दीर्घकालीन असर पारेको वस्तुगत आधार भएको हुनुपर्ने लगायतका कुरालाई छनौटको मापदण्ड बनाइएको थियो ।
राष्ट्रसङ्घले निर्धारण गरेका सबै मापदण्ड पूरा गरेपछि उत्कृष्ट छनौटमा परेको नेपाललाई एक विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रसङ्घले नेपाललाई पुरस्कृत पनि गर्ने भएको छ । सो पुरस्कार लिन नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतो नौरवी जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस