भालुका रोचक कुरा : भालेले बच्चा नै खान्छ, मह मनपराउँछ

काठमाडाैं - भालु (रिक्ष) अर्सिडि (Ursidae) परिवार अन्तर्गत पर्ने स्तनधारी जनावर हो। विश्वभरी भालुका आठ प्रजातीहरू मात्रै पाइने भएपनि यिनीहरू उत्तरी गोलर्द्धका प्राय सबै भूभागमा मात्र नभई दक्षिणी गोलर्द्धका केही भूभागमा समेत पाइन्छन्। भालुहरू उत्तरी अमेरिका, दक्षिणी अमेरिका, युरोप र एसियामा प्रसस्त पाइन्छन्। आधुनिक भालुको शरीर ठूलो र लामा लामा रौंहरूले ढाकेको हुन्छ।

साधारणतया यसको लामो थुतुनो, रौंहरूले ढाकेको खुट्टाहरू, लामा र बलीया नङ्ग्रा भएका पन्जाहरू र छोटो खालको पुच्छ‍र हुन्छ। भालु एक हिँस्रक तथा खतरनाक पशु हो। यिनिहरू आफ्नो जीवनमा विभिन्न गतिविधि गर्छन् । ती गतिविधिहरू रोचक रोचक छन् ।

० भालुको विशाल शरीर हुन्छ । यसको छोटो पुच्छर र गोलाकार कान र पाँचवटा औलाहरुमा विभाजित खुट्टा हुन्छ । भालुको खुट्टामा मान्छेको जस्तै कुर्कच्चा र पैतालो पनि हुन्छ ।

० भालु पाण्डा, रैकुन र कुकुरको नजिकको स्तनधारी मांसहारी प्राणी मानिन्छ । तर यसले बोटबिरुवा र अन्नहरु पनि खान्छ । भालुले मौरीको मह अत्यन्तै मन पराउँछ । एउटा ग्रिज्ली भालुले एक पटकमा ९ किलोसम्म खानेकुरा खानसक्छ ।

० भालु अफ्रिका, एन्टार्कटिका र अस्ट्रेलियाबाहेक सर्वत्र पाइन्छ ।

० भालुहरु बासस्थान अनुसार फरक फरक जात, आकार र प्रकार, रुप र रंगका पाइन्छन् । भालुहरुमा सबैभन्दा ठुलो भालु उत्तर अमेरिका र रुसतिर पाइने हिंस्रक खैरो भालु (Grizzly Bear) हो । यो भालुको भालेको तौल ७८० किलोग्राम हुन्छ । यो प्राणीलाई संसारमा पाइने सबैभन्दा ठुलो मांसहरी प्राणीहरुमध्ये प्रमुख प्राणी मानिन्छ ।

० खैरो भालुपछि दोस्रो ठूलो भालु ध्रुवीय भालु (Polar Bear) हो । यो भालुको तौल ६८२ किलोग्रामभन्दा बेसीसम्म पनि हुन सक्छ । त्यसैगरी, अमेरिकन कालो भालुको तौल २७० किलोग्रामसम्म हुनसक्छ । एशिया क्षेत्र (विशेष गरी चीन, जापान र साइबेरिया क्षेत्रमा बढी पाइने) भालुलाई हिमाली कालो भालु (Himalayan Bear) हो । यसको तौल २७ देखि ५० किलोग्रामसम्म मात्र हुनसक्छ ।

० सबैभन्दा सानो भालु एशियामा नै पाइने भालु (Sun Bear) हो । यसको तौल २७ देखि ५० किलोसम्म मात्र हुन्छ ।

० ध्रुवीय क्षेत्रमा पाइने भालुको खुट्टामा बाक्लो भुत्ला हुन्छ ।

० भालु १५ वर्षदेखि ३० वर्षसम्म बाँच्छ ।

० भालुले २ वर्षमा एक पटक बच्चा जन्माउँछ । भरखरै जन्मेको बच्चाको आँखा पूरै बन्द हुन्छ र यसको शरीरमा रौं हुँदैन ।

० भालुको सुँध्ने शक्ति अत्यन्तै तीखो हुन्छ । यसले देखेरभन्दा पनि बढी गन्धकै आधारमा आफ्नो शिकार पहिल्याउँछ र पक्रछ ।

० एउटा भालुले अर्को भालुको क्षेत्रमा हस्तक्षेप गर्दैन । यसको लागि भालुले सूचनाको आदानप्रदान गर्दा पनि यही गन्ध–शक्तिको उपयोग गर्छ ।

० खानेकुराको खोजीमा भालु आफ्नो बासस्थानबाट १५० किलोमिटर टाढासम्म पनि पुग्छ । यस अवस्थामा भालुले यही गन्धशक्तिको आधारमा अर्को भालुको क्षेत्र थाहा पाएर त्यो सँग निश्चित दुरी कायम गर्छ । यसबाहेक, भालुले आफ्नो क्षेत्रको रुख चपाएर टोकेर वा खोस्रेर पनि अर्को भालुलाई आफ्नो क्षेत्रको संकेत दिन्छ ।

० भाले भालुले आफ्नो बच्चालाई देखिसहँदैन । यसले मौका पायो कि बच्चा भालुलाई मारेर खाइदिन्छ । त्यसैले माउ भालुले भाले भालुबाट आफ्नो बच्चालाई लुकाउनुपर्छ । पोथी भालुले जाडो मौसममा शीत–निद्रामा जानुभन्दा पहिले आफ्नो वासस्थान अलग्गै बनाउँछ । त्यसैगरी, वसन्त ऋतुमा पनि यसले अलग्गै बनाएर बच्चा हुर्काउँछ ।

० कालो भालु अधिकांशतः रुखहरु भएको क्षेत्रमा बसोबास गर्नेगर्छ र यो भालुको बच्चाहरु रुख चढ्न अत्यन्तै फुर्तिला हुन्छन् । यो फुर्तिलोपनाले उनीहरुलाई विशेष गरेर भाले भालुको आहार बन्नबाट जोगाउने गर्छ ।

० दौडने हरेक चीजलाई भालुले आक्रमण गर्छ । त्यसैले भालुसँग आमने–सामने भयो भने, दौडनुको सट्टा विस्तारै पछाडि हट्ने र चिच्याएर कराउने गर्नुपर्छ । यसो गर्दा भालुले आक्रमण गर्दैन ।

० आक्रमण गर्दा भालु ४५ किलोमिटर प्रतिघण्टाको गतिले दौडन सक्छ । - एजेन्सीकाे सहयाेगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics