गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

ढोरपाटन– बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि पर्यटन तथा उद्योग कार्यालय बागलुङसँग सम्झौता गरेर काम सुरु गरिएको गाईघाट झरना–बराहताल पदमार्ग निर्माण समितिका अध्यक्ष नरबहादुर घर्ती मगरले जानकारी दिए।

यस वर्ष विनियोजन भएको बजेटले तालसम्म पदमार्ग पुर्‍याउन नसकिने उनको भनाइ छ । पक्की पदमार्ग निर्माण गर्न बढी खर्च लाग्ने हुँदा यस वर्ष करिब सात सय मिटर निर्माण हुने अध्यक्ष घर्ती मगरले बताए । गाईघाट झरनादेखि करले गाउँसम्म पदमार्ग निर्माण गर्ने मगरले बताए ।

ताराखोला–१ मा पर्ने झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । झरनामा आउने पर्यटकलाई तालसम्म पुर्‍याउन पदमार्गले सहजता प्रदान गर्ने ताराखोला–१ का अध्यक्ष यामबहादुर श्रीसले बताए । खासगरी पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माण गर्न थालिएको उनको भनाइ छ । गाईघाट झरनादेखि बराह ताल पाँच किलोमिटर उत्तरमा रहेको जनाउँदै तालसम्मै पदमार्ग पुर्‍याउनका लागि आगामी वर्ष प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने अध्यक्ष श्रीसले बताए।

झरनामा गाउँपालिकाले यसभन्दा अगाडि सोलार बत्ती जडान, बगैँचा व्यवस्थापन, खोलामा पुल बनाएको जनाउँदै पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको उनको भनाइ छ । महिनामा करिब दुई हजार बढी पर्यटकले झरनाको अवलोकन गर्ने गरेको श्रीसले बताए। सबैभन्दा बढी बिदाको दिनमा पर्यटक आउने गरेका उनले जानकारी दिए ।

झरनालाई व्यवस्थित बनाउनका लागि प्रदेशले चालु आवमा पदमार्ग निर्माणसहित रु १५ लाख विनियोजन गरेको उनले बताए। झरनाभन्दा माथि रहेको ताललाई सौन्दर्यकरण गर्नुका साथै त्यस वरपर मन्दिर निर्माणसमेत गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics