बाघको शव भेटियो, कालगतिले मरेको आशंका

नवलपरासी – पूर्वी नवलपरासीमा बाघको शव फेला परेको छ । मध्यविन्दु नगरपालिका– १० अरुणखोला स्थित भूपू तमासपुर जाने बाटोनजिकैको वनमा भाले बाघ मृत फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सो बाघ मरेको वा मारिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । डिभिजन वन कार्यालय कावासोती र प्रहरीको टोलीले शुक्रबार दिउँसो घटना स्थलमा पुगेर अनुसन्धान गरेको थियो ।

डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले उक्त बाघ कालगतिले मरेको हुनसक्ने बताए । १०–१५ दिनअघि नै उक्त बाघ मरेको अनुमान गरिएको छ । बाघ सडेर गलिसकेको अवस्थामा फेला परेको थियो ।

सापकोटाका अनुसार उक्त बाघलाई स्थानीय बासिन्दा, प्रहरी र वन कर्मचारीको रोहवरमा मुचुल्का तयार पारी घटनास्थल वरपर नै गाडेर छाडिएको छ । स्थानीयले उक्त स्थानमा ८–१० दिनअघि नै उक्त बाघ देखे पनि सुतेर बसेको आशंका गरेका थिए । सो भाले बाघ १२–१५ वर्षको उमेरको रहेको अनुमान गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics