धनकुटा चौबिसेका तालहरूको संरक्षण कस्ले गर्ने ?

धनकुटा - धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणका पखाईमा रहेका छन् । धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन ।

संरक्षण अभावमा पालिकाको केन्द्रमा रहेको वडा नं ६ स्थित राजारानी बजारमा रहेको राजा र रानी तालमध्ये राजातालको पाँच सय रोपनीभन्दा बढी क्षेत्रफल दलदलमा सीमित रहेको छ ।

तालको रानीताल क्षेत्र २०६३ सालबाट १५० रोपनीमा संरक्षण गरिए पनि सँगै जोडिएको राजाताल भने जग्गादाताले सहकार्य नगर्दा संरक्षण गर्न नसकिएको मावरक रानीताल संरक्षण समितिका अध्यक्ष टेकरत्न चेम्जोङले जानकारी दिए ।

पैसठ्ठी घरधुरीको जमिनलाई सहकारीमा कायम गरेर संरक्षण थालिएको रानीताल क्षेत्रको बृहत् विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिसकेको छ । तर, सँगैको राजातालको जमिन जग्गादातासँगको सहकार्य नमिलेका कारण ताल निर्माण गर्न नसकिएको चौबिसे पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका चेम्जोङले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाको वडा नं २ को शौरेबजारसँगै रहेको धप्पड तालसँगै रहेको टिठुङ ताल पनि संरक्षणको पर्खाइमा रहेको छ । गाउँपालिकाले गत वर्षबाट रु चार करोडको लागतमा ५२ रोपनीमा फैलिएको धप्पडताल संरक्षणको काम सुरु गरेको छ । तर सँगै रहेको टिठुङताल बजेटको अभाव हुँदा संरक्षण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।

त्यस्तै पालिकाको वडा नं १ सानो मुक्तरामा रहेको काङ्गडातालको पनि पूर्णरूपमा संरक्षण हुन नसकेको पूर्ववडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

व्यक्तिको नाममा रहेको करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको यो तालको दुई वर्षअघिबाट संरक्षण थालिए पनि बजेट अभावमा यसको पूर्णरूपमा प्रवर्द्धन गर्न नसकिएको उनको भनाइ छ ।

पालिकाको वडा नं १ को स्याङ्दन गाउँमा दुई सय रोपनीमा फैलिएको रानीपोखरी ताल अलपत्र अवस्थामा रहेको छ । व्यक्तिको नाममा रहेको यो पोखरी आंशिकमात्र खेतीपाती गरिएकाले अधिकांश तालक्षेत्र दलदल र सिमसार रहेको छ । यस क्षेत्रका अधिकांश जग्गाधनी तराईमा रहेकाले आफ्नो कार्यकालमा गरेको पहल पूरा हुन नसकेको पूर्वगाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिए ।

तालको संरक्षण गर्न व्यक्तिका जमिनलाई सहकारीमा लाने प्रक्रियाको सुरु गरिसकिएकाले ताल निर्माणको काम अब अघि बढ्ने पालिका अध्यक्ष लिम्बूले जानकारी दिए ।

त्यस्तै पालिकाको वडा नं १ स्थित छ नम्बर बुधबारे बजार नजिक पूर्वमा करिब ४० रोपनीमा रहेको गडेरेताल पनि संरक्षण अभावमा दलदलमा सीमित छ ।

व्यक्तिको नाममा रहेको यो तालको संरक्षणका लागि गाउँवासीले केही वर्षअघि जमिन दिने निर्णय गरे पनि तालबाट आउने आम्दानीका विषयमा पालिकासँग कुरा नमिल्दा ताल बन्न नसकेको वडाध्यक्ष देवेन्द्र क्षेष्ठले जानकारी दिए ।

हाल उक्त स्थान र रानीपोखरी तालमा कृषि मन्त्रालयबाट माछापालनका लागि सर्वेक्षण भइरहेको उनले जानकारी दिए । ‘पानी र जमिन त्यसै खेर जान दिनुभन्दा हामी पर्यटनको विकल्पमा माछापालन गर्ने कि भन्ने सोचमा छौं’, अध्यक्ष श्रेष्ठले भने ।

यी ताल निर्माणाधीन एक सय किलोमिटर भेडेटार-रवि–राँके राजमार्गको पहुँचमा रहेकाले यहाँका तालको संरक्षण र प्रवर्द्धन गर्नसके यस पालिका क्षेत्रलाई तालैतालको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ ।

गएको पाँच वर्षमा यसको प्रवर्द्धन गर्न खोजिए पनि पर्याप्त बजेट अभावमा तालहरूको संरक्षणका लागि व्यक्तिसँग समन्वयन गर्न कठिन हुँदा ताल संरक्षणको काम अधुरै रहेको पालिका पूर्वअध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।

यसका लागि पालिकाले सबै ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफू र पालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमारले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics