अझै पानी परेन भने के हुनसक्छ ?

काठमाडौं – जाडो महिना सकिन अब केही साता मात्रै बाँकी छ । तर, अहिले सम्म मज्जाले बर्षा भएको छैन । हिमालमा हिउँ परेको छैन । यसको असर हिमाल देखि तराई सम्म नै देखिएको छ ।

हिमालमा कम हिउँ हुँदा त्यसले तल्लो भेगमा बसिरहेका मानिसहरूको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने वैज्ञानिकहरू बताउँछन् । एकीकृत पर्वतीय विकास केन्द्रका डाक्टर सेर मोहम्मदका अनुसार हिउँ कम हुँदा त्यसले पानीको उपलब्धतामा उल्लेख्य प्रभाव पार्नसक्छ । भन्छन्, ‘त्यसले तल्लो तटका बस्तीहरूमा प्रभाव पार्छ । कृषिमा पनि असर पर्छ । त्यसमा पनि अझ पानी पनि कम प¥यो भने आगामी दिनमा अझ सुक्खा हुनेछ ।’

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हिम सर्भे तथा हिमताल शाखाका सिनिअर डिभिजनल हाइड्रोलोजिस्ट दिनकर कायस्थ अहिले हिउँको मात्रा कम भएकाले त्यसले गर्दा चैत बैशाखमा नदीहरूमा पानीको जल स्तरसमेत प्रभावित हुनसक्ने बताउँछन् ।

उनले भने, ‘अब नयाँ सिजनमा हिउँमा आधारित नदीहरूमा पानीको मात्रा कम हुन्छ । तर त्यसको अप्रत्यक्ष प्रभाव अन्य कैयौँ क्षेत्रमा हुन्छ ।’ सुरुमा यो वर्ष जाडो याममा सामान्य भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको थियो । जल तथा मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईँ मासिक रूपमा मौसम प्रक्षेपण गर्ने क्षमता विभागको नभएको बताए ।

उनले भने, ‘हिउँद भनेको एकदमै थोरै पानी पर्ने समय हो । वर्षभरिको वर्षाको ३ देखि ४ प्रतिशत पानी मात्रै यो समयमा पर्छ । हामीसँग अझै पनि एक महिना १० दिन जति बाँकी छ, दुई चार वटा पानी पर्ने घटना भए भने पनि सरदरको नजिक पुग्छ ।’ तर उनले विश्वव्यापी प्रक्षेपणलाई हेरेर तीन महिनाको प्रक्षेपण सार्वजनिक गरेको उल्लेख गर्दै उनले त्यो मिलेको या नमिलेको भन्नसक्ने अवस्थामा आफूहरू नरहेको उनले उल्लेख गरे ।

जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको विगतमा अध्ययनहरूले देखाएका थिए । युनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरूले विश्वको सर्वोच्च हिमालमा अवस्थित ‘साउथ कोल ग्लेसिअर’ विगत २५ वर्षमा ५४ मिटर (१८० फीट) घटिसकेको पत्ता लगाएका छन् ।

समुद्रको सतहभन्दा झन्डै ७,९०६ मिटर उचाइमा रहेको उक्त हिमनदीमा पहिलो पटक बरफ जम्न लागेको समयभन्दा बरफ पग्लिने गति ८० गुणा चाँडो छ । बढ्दो तापमान तथा तीव्र गतिमा चल्ने हावाका कारण तीव्र गतिमा बरफ पग्लिँदै र पातलिँदै गएको मानिएको छ । –बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics