एउटै परेवाको मूल्य १६ लाख युरो

काठमाडौं – नेपाल लगायत विश्वका विभिन्न मुलुकमा केही ठूला–ठूला कार्यक्रम हुँदा वा उद्घाटन गर्दा परेवा उडाउने चलन छ । यसलाई शान्तिको प्रतिकका रूपमा पनि लिइन्छ । तर, कुनै देशमा यसलाई रेसिङको लागि पनि प्रयोग गरिन्छ । आज यसै विषयमा चर्चा गरौं ।

बेल्जियमको एउटा रेसिङ परेवा (परेवा उडाउने प्रतिस्पर्धामा सामेल गरिने परेवा) १६ लाख युरोमा बिक्री भएपछि नयाँ कीर्तिमान् बनेको छ । न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा मात्र २०० युरोमा बोलकबोलका लागि राखिएको थियो ।

तर, त्यसलाई चीनका एकजना खरिदकर्ताले हालसम्मकै उच्च रकममा खरिद गरेका थिए । त्यो परेवा पाल्ने कर्ट भान् ड वीवको परिवार उक्त समाचारले “आश्चर्यचकित“ भएको रोयटर्स समाचार संस्थाले जनाएको छ । यसअघि एउटा चार वर्षको भाले परेवाले रेसिङ परेवा बिक्रीमा कीर्तिमान् राखेको थियो । त्यो परेवा १२ लाख ५० हजार युरोमा बिक्री भएको थियो ।

अर्मान्डो नामको उक्त च्याम्पियन रेसर परेवालाई फर्मुला वानका विश्व च्याम्पियन ‘लुइस ह्यामिल्टन’को नाम जोडेर ‘परेवाहरूको लुइस ह्यामिल्टन’ भन्ने गरिन्थ्यो । सन् २०१९ मा बिक्रीका लागि राख्दा उक्त परेवा पहिले नै निवृत्त भइसकेको थियो र कैयौँ चल्लाहरूको पिता बनिसकेको थियो ।

न्यू किमले सन् २०१८ मा राष्ट्रिय मध्यम–दूरी रेससहित कैयौँ प्रतिस्पर्धाहरू जितेको थियो । तर त्यसपछि उ निवृत्त भएको थियो । अर्मान्डोकै जस्तो न्यू किमलाई पनि दुईजना चिनियाँ खरिदकर्ता बीचको बोलकबोल युद्धपश्चात् एकजनाले किनिएको हो ।

चीनमा पछिल्ला वर्षहरूमा परेवा रेसले लोकप्रियता कमाइ रहेको छ । रेसिङमा प्रयोग गरिएका परेवाले पनि उनीहरू १० वर्षको हुँदासम्म चल्ला पार्न सक्छन् । न्यू किमका नयाँ मालिकले पनि उसलाई बच्चा जन्माउनका लागि प्रयोग गर्ने ठानिएको छ ।

तर, लिलामीकर्ताले चाहिँ त्यसले बिक्री अझ असामान्य हुन गएको बताए । लिलामी केन्द्र पिपाका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत निकोलास गाइजलब्रेक्टले रोयटर्सलाई भनेका छन्, ‘यो कीर्तिमानी मूल्य विश्वासै गर्न नसकिने खालको छ किनकि यो परेवा पोथी हो । सामान्यतयाः पोथीभन्दा भालेको धेरै मूल्य हुन्छ किनभने भालेले धेरै वंश विस्तार गर्न सक्छ ।’

उनका अनुसार बेल्जियम लामो समयदेखि परेवा प्रेमीको घर बनेको छ । त्यहाँ २० हजार परेवा प्रजनन् गराउनेहरू छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics