बिषाक्त खान्कीले मरेको स्याल खाँदा मरे ६ गिद्ध, चिन्तित संरक्षणकर्मी

पूर्वी नवलपरासी — बिषाक्त खान्कीले मरेको स्यालको सिनो खाँदा कावासोतीको लोकाहा खोलाको किनारमा ६ वटा गिद्ध मरेका छन् । सोमबार दिउँसो खोलाको किनारमा ५ वटा गिद्ध मृत अबस्थामा फेला परेका थिए । घाइतेमध्ये थप एक गिद्ध पनि मरेकाले मृत गिद्धको संख्या ६ पुगेको त्यहाँ उपचारमा सघाइरहेका संरक्षणकर्मी बिजि चौधरीले बताए ।

लोपोन्मुख गिद्ध भटाभट मरेको भेटिएपछि वन्यजन्तु र चराचर संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । सुरुवातमा कावासोती नगरपालिका –११ को लोकाहा खोलाको किनारमा ५ वटा गिद्ध मृत अबस्थामा भेटिएका थिए भने अरु केही घाइते भेटिएका थिए । गिद्ध मरेको स्थान आसपासमा मरेका २ वटा स्याल भेटिएको छ । स्याल बिषाक्त खान्कीले मरेको स्थानीयबासीको आशंका छ ।

संरक्षणकर्मी चौधरीले त्यही स्याल खाएको कारण गिद्धहरु मरेका हुनसक्ने बताए । उनका अनुसार हिमाली गिद्ध एउटा र डंगरजातको एउटा ५ वटा मरेका छन् । सुनगिद्ध जातको एउटा र डंगर गिद्ध ६ वटा घाइते छन् । ५ महिना अघि कावासोतीको केरुंगे खोला आसपासको क्षेत्रमा १७ वटा गिद्ध मृत फेला परेका थिए ।

लोपोन्मुख गिद्ध संरक्षणका लागि गिद्ध रेष्टुरेन्ट स्थापना गरेर संरक्षण गरिरहेकै अबस्थामा गिद्ध भकाभक मरेको भेटिएपछि संरक्षणकर्मी चिन्तित छन् । कावासोतीको नमूना मध्यवर्ती सामुदायिक वनमा गिद्धको संख्या बढाउन सघाउने जटायू रेष्टुरेन्ट छ । त्यहाँ मरेका चौपाय राखेर गिद्धलाई बोलाइने उद्धेश्य छ । लोपोन्मुख जातको गिद्ध संरक्षणका लागि यहाँ स्थानीय पहलमा गिद्ध रेष्टुरेन्ट स्थापना गरिएको १६ वर्ष भन्दा बढी समय भइसकेको छ ।

गत माघ २० गते त्यो रेष्टुरेन्ट नजिक एउटै थलोमा ४ सय ६५ गिद्ध फेला परेका थिए । एकै पटक एउटै थलोमा त्यतिका संख्यामा गिद्ध झुम्मिएपछि संरक्षणकर्मी हौसिएका थिए । नेपालमा सुरु गरिएको गिद्ध रेष्टुरेन्ट संसारमै सफल मानिएको छ । गिद्ध रेष्टुरेन्टमा मरेका चौपाय राखेर गिद्धलाई एउटै थलोमा आहारा दिइन्छ ।

त्यहाँ आउने र झुम्मिने गिद्धमा सेटलाइट टयाग लगाउने गरिन्छ । त्यसले गिद्ध कहाँ कहाँ पुगेको छ भनेर जानकारी लिन सजिलो हुन्छ । यहाँबाट सुरु गरिएको जटायू रेष्टुरेन्ट ( गिद्धको आहारा जुटाउने रेष्टुरेन्ट) सफल पार्न बिभिन्न १५ भन्दा बढि दातृ निकायको लगानी रहेको छ । सिमलको रुखमा गिद्धले गुण बनाउने भएकाले यो क्षेत्र रोजिएको हो । चितवन निकुन्ज र यहाको मध्यवर्ति क्षेत्रमा सिमलका रुख बाक्लै रहेका छन् ।

सांसरभर २३ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एसियामा पाइने सबै ९ प्रजातिका गिद्ध नेपालमा पाइन्छ । कावासोती क्षेत्रमा ८ प्रजातिका गिद्ध पाइन्छ । पर्यावरण सफा गर्न गिद्धको ठूलो भूमिका छ । गिद्धलाई प्रकृतिको कूचिकार मानिन्छ । फोहोर सिनो खाएर वातावरण सफा गर्न सघाउँछ । सौराहाको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध यहाँ ल्याएर छोडिन्छ । अग्ला सिमलको रुख गिद्ध मनपर्ने बासस्थान हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics