‘अब जंगली जनावर भोटे कुकुर खेद्नेछ’
- नेचर खबर

अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ ले जंगली जनावरको नियन्त्रण गर्न भोटे कुकुर वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बदेल, दुम्सी लगायतका जंगली जनावरहरूबाट किसानको खेती जोगाउनको लागि शुद्ध नश्लका भोटे कुकुर खरिद गरी बितरण गर्ने वडा कार्यालयले जनाएको छ ।
‘अहिले ग्रामीण भेगमा बादर, बँदेल, दुम्सी लगायतका जंगली जनावरले किसानहरूलाइ सताइरहेका छन्’ वडा अध्यक्ष चन्द्रकान्त पौडेलले भने ‘जंगली जनावरको आतंकलाई कम गर्न केही हद सम्म भए पनि सहयोग होस भन्ने उदेश्यले कुकुर बितरण गर्ने योजना ल्याएका हौं ।’
वडा कार्यालयले २५ प्रतिशत लागत साझेदारीमा भोटे कुकुर किसानलाइ उपलब्ध गराउने वडाले एक सूचना जारी गर्दै जानकारी गराएको छ । कुकुर पाल्न इच्छुक किसानहरूले १५ दिन भित्र यस वडा कार्यालयमा निवेदन पेश गर्नको वडाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस