राजनीतिसँगै कृषिकर्ममा पूर्वप्रमुख हरिनारायण चौधरी

सिरहा - 'ज्यूँदै मर्‍याको भनि नाम छ कस्को ? उद्यमबिना बित्छ काल जस्को ।' आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् ।

एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ । त्यसैको उदाहरण हुन् सिरहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी ।

विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख भएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाएका छन् । ‘सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ”, चौधरीले भने, ‘नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु । काम त गरिखानुपर्यो नि सबैले ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेसा बताएका छन् । उनले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहेका छन् । एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र घाँस तथा बीउ बेचेर करिब रु १० लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए ।

‘राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ’, चौधरी भन्छन्, ‘त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।’

उनी सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए ।

‘सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो । समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ’, उनले भने ।

राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुई पैसा खर्च गर्ने साहस पनि बढेको बताए ।

चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानीमात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ । त्यो खुसीले उनकी श्रीमती बचकुनदेवी चौधरीको खुसीको दायरा पनि फराकिलो बनाएको छ ।

‘गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरो श्रीमान्को पनि कुरा काटेको सुन्थेँ । मन अमिलो हुन्थ्यो’, बचकुनदेवीले भने, ‘श्रीमान्ले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुसी हुन्छ ।’

चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोड्नुभएको छैन । त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती बचकुनदेवी नै हुन् ।

उत्पादनसँग जोडिऔँ
अधिकांश जनता कृषि पेसामा भए पनि राज्यको लगानी र सामाजिकरूपमा हेयको दृष्टिले हेर्दा उचित लाभ लिन नसकिएको चौधरीको बुझाइ छ । उनले कृषिबाटै नेपाललाई समृद्ध बनाउने सोचसहित अगाडि बढ्नुपर्ने जरुरी रहेको बताए । सोही भावनाअनुसर आफू नगरप्रमुख भएका बेला धनगढीमाई नगरपालिकाका किसानलाई प्रोत्साहन, आलु पकेट क्षेत्र घोषणा र सहयोगलगायतका काम गरेको उनले सुनाए ।

‘हामीसँग उर्बर माटो छ । अनुकूल वातावरण छ’, उनले भने, ‘सिँचाइ सुविधा, समयमै मलखाद, कृषि पूर्वाधारमा लगानी, उत्पादनको बजारीकरण गर्ने राज्यको नीति र आफ्नो माटोलाई माया गर्ने हुने हो भने यहाँ अन्न मात्र होइन सुनै फलाउन सकिन्छ भन्ने आत्मविश्वास नागरिकमा जगाउन जरुरी छ ।’

जनतालाई परिवर्तनमा ल्याउने तथा आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने माओवादीका नेता कार्यकर्ताले त उत्पादनमा जोडिएर उदाहरण पेस गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ ।

माओवादीले विसं २०६९ माघमा हेटौँडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता उत्पादनसँग जोडिने नीति पास गरे पनि त्यसअनुसार हुन नसकेकामा चौधरीको चित्त दुखाइ छ ।

‘जनयुद्धमा हुँदाका सपना त छँदैछन् । हाम्रो पार्टीको हेटौँडा महाधिवेशनले उत्पादन ब्रिगेडको नीति अख्तियार गर्यो तर नेताहरूले सोअनुसारको व्यवहार अङ्गिकार गर्न सकिएन । हरेक नागरिक र पार्टी सदस्यलाई श्रम र उत्पादनसँग नजोडी विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले अधिकांश युवाहरू विदेशिइरहेको बेला नेपालका पार्टीहरूले नै श्रम र उत्पादनसँग जोड्ने अभियान सुरु गर्नुपर्छ’, उनले भने ।

राजनीति पेसा होइन, सेवा हो
राजनीतिलाई सेवाभन्दा पनि पेसा बनाउने प्रवृत्ति बढ्दै गएकामा पनि चौधरीको चिन्ता छ । देशमा बेतिथि र कुशासनको जड पनि परनिर्भर संस्कृतिको विकास हो भन्ने चौधरी आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको बताउँछन् ।

‘राजनीतिमा उद्योग, व्यापार, जागिर वा आयआर्जनको अरु केही कुरा छैन तर पनि अधिकांशले ऐयासी जीवन बिताइरहेका छन् । त्यो प्रवृत्तिबाट देशको हित हुन सक्दैन र नागरिकलाई आशावादी पनि बनाउन सकिँदैन’, चौधरी भन्छन्, ‘समृद्धि, सुशासन, निराशाको अन्त्य र आम युवाहरूमा आशाको सन्देश फैलाउन पनि हरेक पार्टी र पार्टीका नेता, कार्यकर्ता उद्यमशील बन्न सक्नुपर्छ । म आफैँले त्यो बाटो रोजिसकेको छु । अरुलाई पनि आह्वान गर्छु ।’ - रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics