विश्व वन्यजन्तु दिवस आज, चोरी सिकारी नियन्त्रण विषयमा बहस आवश्यक

काठमाडौं – विश्व वन्यजन्तु दिवस आइतबार (आज) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वको जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रूखबिरुवाहरूका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण संवर्द्धनका लागि हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउँदछ ।

विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो । सबै प्राणी र बिरुवाहरूको सुरक्षा, संवर्द्धन अनि उपस्थिति मानवको दायित्व हो । चोरी सिकारी, पैठारी अनि तस्करहरूको सक्रियताले नेपालमा पनि धेरै जनावरहरू र बिरुवाहरूको विनाश भएको, हत्या भएको, नासिएको इतिहास छ ।

थाइल्याण्डको पहलमा सन् २०१३ मा भएको विश्व सम्मेलनमा जंगली जनावर र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारबारे बहस भएको थियो । सो सम्मेलन विश्वमा भएका पैंतीस हजारभन्दा बढी जनावर र वनस्पतिका प्रजातिको संरक्षणका लागि पहिलो कदम भनिएको छ ।

संयुक्त राष्ट्रसंघको ६८औं साधारणसभाले घोषणा गरेको यो दिवसले प्रत्येक वर्ष वन्यजन्तुको संरक्षणका लागि जनचेतना जगाउने, वन्यजन्तुको बढ्दो व्यापार रोक्ने, संकटमा परेका ठूला बिराला, बाघ, हिउँचितुवा, चितुवा लगायतका वन्यजन्तु संरक्षण गरी पर्यावरण कायम गर्न यो दिवस मनाउन थालिएको हो ।

वन्यजन्तु जैविक विविधता र पर्यावरण संरक्षणका स्रोत हुन् । एउटा बाघलाई बाँच्न व्यापक, घना जंगल र घाँसे मैदानसँगै पानी चाहिन्छ । त्यसो भएमात्र विभिन्न प्रजातिका जीवजन्तुहरूको पनि अस्तित्व रहन्छ । वन कार्बन बैंक र अक्सिजनको स्रोत पनि हो । त्यसैले वन, वन्यजन्तु, विविध वनस्पति र मानवजातिको अन्योन्याश्रित सम्बन्ध छ ।

यतिबेला हामी कहाँ मानव र वन्यजन्तुका बीच द्वन्द्व चलिरहेको छ । उनीहरूको वासस्थल प्रत्येक दिन अतिक्रमणको चपेटामा पर्दैछ । जति–जति वनजंगल अतिक्रमणमा पर्छ त्यति–त्यति वन्यजन्तुको अस्तित्व संकटमा पर्दै जान्छ । नङ र मासु सरहको वन र वन्यजन्तुको सम्बन्ध र यी दुबैसँग मानव जातिको अस्तित्व जोडिएकाले त्यसको संरक्षणमा जनतादेखि राज्यसम्मले लागीपर्नु पर्छ– यो नै विश्व वन्यजन्तु दिवसको माग हो । तर, मानिसले यो जान्दाजान्दै पनि वन क्षेत्रको अतिक्रमण गरिरहेको छ, वन्यजन्तुको अवैध सिकार गरिरहेको छ । जसका कारण प्रत्येक दिन जैविक विविधता विनाश भइरहेको छ । यसको प्रभाव पारिस्थितिक प्रणालीमा पर्दैछ ।

मानिसको यस्तो व्यवहारले आफ्नै अस्तित्व लोप हुने निश्चित छ । त्यसैले मानिससँगै सबै वन्यजन्तु र वनस्पतिको अस्तित्वको रक्षाका लागि विश्व समुदाय लागीपरेको छ । तर, हामीकहाँ भने यस्ता दिवस औपचारिकतामै सीमित भइरहँदा हरितगृह ग्याँस बढ्दै गएको छ ।

यसका नकारात्मक असरहरू देखिन पनि थालेको छ । आजको आवश्यकता भनेकै जैविक विविधतालाई संरक्षण गर्नु हो । यसले खाद्यवस्तुमा स्वच्छता कायम रहन्छ, पृथ्वीको आयु बढ्छ । त्यसैले यो दिनलाई राज्यले जिम्मेवारी ढंगले उत्सवका रुपमा मनाएर जनचेतना जगाउने काम गर्नुपर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics