झापाको मेची नदीमा देखियो सगरमाथा माथि उडान भर्ने खोया हाँस
- नेचर खबर

झापा — झापाको मेची नदीमा ‘बार हेडेड गुस’ भनिने खोया हाँस देखा परेको छ । यो हाँसलाई सर्वोच्च शिखर सगरमाथा भन्दा माथि उडान भर्न सक्ने हाँसका रूपमा पनि लिइन्छ । यसरी अत्याधिक माथी उडान भर्ने हाँस झापाको मेची नदी क्षेत्रमा देखिनुलाई संरक्षणकर्मीले अनौठो मानेका छन् ।
सन्दीप लुइँटेलले यसको फोटो कैद गरेका छन् । उनले फोटो कैद गरेको स्थान मेचीनगर–४ बाहुनडाँगीस्गित मेची नदी किनार रहेको बताइएको छ । लुइँटेल स्थानीय संरक्षणकर्मी हुन् । उनले शुक्रबार बिहान मेची नदीमा टहलिरहेका २० वटा खोया हाँस फेला पारे । हाँस देख्ने बित्तिकै उनले तत्काल फोटा खिचेको बताएका छन् ।
पन्छी संरक्षणकर्मीहरूका अनुसार खोया हाँस मंगोलिया, चीन तथा मध्य एसियाबाट नेपाल हुँदै भारत पुगेर पुनः फर्किने गरेको छन् । यो लामो दुरीको यात्रा तय गरेर आएको चरा हो । मेचीमा देखिएको चाँहि यो नै पहिलो पटक हो ।
मेचीनगरमा करिव ३ सय बढी विभिन्न प्रजातिका चराहरू पाइने चरा संरक्षणका अभियन्ता देवेन खरेलले जनाए । उनले भने, ‘खोया हाँस चाँहि यहाँ पहिलो पटक देखिएको हो ।’
उनका अनुसार हाँस प्रजातिको यो हिउँदे आगन्तुक चरा हो । जाडो छल्न भारतसम्म पुग्छन् । गर्मी चढ्न थालेपछि प्रजननका लागि आफ्नै थातथलोमा फर्किन्छन् । विज्ञका अनुसार यो हाँस सगरमाथाको उचाइ भन्दा उठान भरेर श्रींलंका नजिकै दक्षिण भारतसम्म पुगेर फर्किने गरेको छ । संरक्षणकर्मी लुइँटेलले जाडो शुरु भएपछि भारत उडेका हाँसहरू दक्षिण भारतमा गर्मी चढ्न थालेपछि फर्किएको हुन सक्ने अनुमान गरे ।
‘फर्किने क्रममा उनीहरू मेची नदीमा केही क्षण टहलिएको हुन सक्छ’, लुइँटेलको अनुमान छ,‘करिव आधा घन्टा जति टहलिएका हाँस झापाको उत्तरी क्षेत्र हुँदै पश्चिम उडे ।’ यो चीनबाट नेपाल हुँदै बसाइ सरी भारत जान्छ । यसले लगभग ९ हजार मिटरसम्म उडान भरेको रेकर्ड छ ।
आउजाउ गर्दा पायक परेका खोला नालामा उनीहरू केही समय टहलिन्छन् । त्यही क्रममा मेचीमा भेटिएको हुन सक्ने अनुमान छ । गर्मी सुरु हुन थालेपछि थातथलोतिर फर्किन्छ । नारायण, कोशी लगायतका ठूला नदीहरूमा आएर केही दिन वसेको रेकर्ड पन्छी विज्ञहरूसँग छ ।
प्रतिक्रिया दिनुहोस