लघु कर्ण खरायो संरक्षणमा चासो कहिले ?

बेद खड्काले २०७२ माघ १७ गते निकुञ्जको सुखीभार घाँसे मैदान क्षेत्रमा खिचेको तस्बिर ।

काठमाडौं – लघु कर्ण खरायोलाई विश्वमा कमै मात्र पाइने खरायो मानिँदै आएको छ । तर, यो पनि लोपहुने अवस्थामा पुगेको भन्दै संरक्षणकर्मीहरू चिन्ता व्यक्त गर्छन् ।

चितवन राष्ट्रिय निकुञ्जका तत्कालिन सहायक संरक्षण अधिकृत बेद खड्काले २०७२ माघ १७ गते निकुञ्जको सुखीभार घाँसे मैदान क्षेत्रमा यो प्रजातीको खरायोको बच्चा फेला परेर फोटो समेत खिचेका थिए । उनले संकट्टापन अवस्थामा रहेको खर मजुरको वासस्थान व्यवस्थापन अध्ययनको सिलशिलामा घाँसे मैदान छनौट गर्ने क्रममा काँसको झुप्को भित्र अन्दाजी १५–२० सेन्टीमिटर लम्बाई भएको खरायोको बच्चा फेला परेका थिए ।

जानकारहरू घाँसे मैदानकै अभावका कारण लघु कर्ण खरायो दुर्लभ बन्दै गएको बताउँछन् । अन्य खरायोको तुलनामा यसको कान निकै सानो हुने भएकाले यसलाई लघु कर्ण खरायो भनिन्छ । यो खरायो शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका केही भागहरूमा पनि पाइने संरक्षकर्मी बताउँछन् ।

तराईका विभिन्न संरक्षित क्षेत्रहरूमा यसको बसोबास छ । तर, त्यस्ता ठाउँहरूमा नियोजित आगो लगाउने बेलामै यसको प्रजनन गर्ने समय भएकाले निकै प्रभावित बनेको बताइन्छ । माघ, फागुन र चैत यस जनावरको प्रजननको समय भए पनि घाँसे मैदानमा गरिने आगलागी वा खर मास्ने प्रक्रियाले यसको अवस्था संवेदनशील बन्दै गएको बताइन्छ । त्यस्तै मासुका लागि यसको अवैध बिक्री समेत हुने गरेको जानकारहरू बताउँछन् ।

विश्वमै ३०० वटा मात्र भएको ठानिएको यस खरायो शुक्लाफाँटामा मात्र ३० वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको एक पुस्तकमा उल्लेख गरिएको छ । संसारबाट लोप भइसकेको लघुकर्ण खरायो चितवन राष्ट्रिय निकुञ्जमा फेला परे पनि यसको खोज तथा संरक्षण हुन नसकेकोप्रति सरोकारवालाहरूले चिन्ता ब्यक्त गरेका छन् ।

सन् १९८४ मा नेपालको चितवन, बर्दीया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लघुकर्ण खरायो पाइन्छ भन्ने तथ्य डा.डाइना वेलसमेतको रिर्पोटमा पनि रहेको छ । पछिल्लो समय लघुकर्ण खरायो नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वाहेक अन्य संरक्षित क्षेत्रमा देखा परेको थिएन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics