हिमाल आरोहणमा जाने सम्पर्क अधिकृत खोज्दै विभाग

काठमाडौं – हिमाल आरोहणमा जाने सरकारी सम्पर्क अधिकृत बन्न चाहने कर्मचारीको नाम पर्यटन विभागले माग गरेको छ ।

नेपालका विभिन्न हिमालको आरोहणका लागि अनुमति लिएका पर्वतारोही दलका साथमा आगामी आरोहण सिजनमा जाने सम्पर्क अधिकृतका लागि विभागले नेपाल सरकारका सबै विभाग तथा मन्त्रालय तथा प्रदेश मन्त्रालयहरुसँग समेत नाम माग गरेको हो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानद्वारा सञ्चालित पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन तालिम लिएका कर्मचारीको नाम छनोट गरी विभाग तथा मन्त्रालयहरुले विभागमा पठाउनु पर्ने भएको छ । यसका लागि १५ दिनको समय दिइएको छ ।

विभागले १ सयभन्दा बढी दरबन्दी भएका कार्यालयबाट २ र सो भन्दा कम दरबन्दी भएको निकायबाट १ जना पठाउनु पर्ने भएको छ । सो कार्यालयमा ६ महिनादेखि काम गरिरहेका कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाउन सकिने भएको छ ।

यसअघि सम्पर्क अधिकृतमा जान नपाएका कर्मचारीलाई प्राथमिकता दिन समेत भनिएको छ । ६ महिनादेखि वैदेशिक भ्रमणमा नपरेको र विदेशी नियोगमा पछिल्लो २ वर्षयता नपरेका कर्मचारीले मात्र सम्पर्क अधिकृत बन्न सक्ने भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics