गर्मी लाग्यो, हिमाल तर्फ सर्न थाले भेडीगोठ

फुङ्लिङ– बेँसी झारिएका भेडीगोठलाई हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म भेडीगोठलाई सारिएका थिए । हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ ।

गाउँबस्तीमा खेती गर्ने समय सुरु भएसँगै बस्तीसँग भेडीगोठको सम्बन्ध छुट्नु एक बाध्यता पनि हो । बस्ती नजिक रहेका खाली चरन क्षेत्रमा अहिले अलैँची बगान विस्तार भएसँगै भेडीगोठ गाउँबस्तीमा धेरै समयसम्म बस्न सक्दैन । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने रुपेश लिम्बूको रात त्रिपालमुनि बित्ने गरेको छ । फक्ताङलुङ गाउँपालिका–४ पिपुथापका उनी कहिले हिमालको फेदी त कहिले बस्तीतिर भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । आफ्नो पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ बसेका हुन् ।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वनजङ्गल, बुकी र खर्कमा भेटिन्छन्। उनले करिब तीन सय बढी भेडाबाख्रा पालेका छन्। हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ ।

फुङ्पलिङ नगरपालिका-१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ अहिले बस्तीदेखि अलिक माथि साम्लिङ खर्कमा उक्लेको छ । गाउँदेखि उक्लेको भेडीगोठ अब वैशाखे हुँदै फक्ताङलुङ गाउँपालिकामा रहेको विश्वको अग्लो कञ्चजङ्घा हिमालको आधार शिविरसम्म पुग्नेछन् ।

किसान लिम्बू करिब तीन महिनासम्म मिक्वाखोला गाउँपालिका–५ समुद्र सतहबाट चार हजार पाँच सय मिटरमा रहेका लोदेन क्षेत्रसम्म पुग्ने गर्नुहुन्छ । फेम्बू गाउँको फेदी हुँदै बग्ने खोक्सेवा खोला किनारमा रहेका बारीको फाँटमा उनको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।

सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको लिम्बू बताउँछन् । लिम्बूसँग अहिले दुई सयवटा भेडा छन् । अहिले वार्षिक रु पाँचदेखि छ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताए।

उनले भने, “भेडाको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन”, बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।

दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको भेडापालक किसानको भनाइ छ । हिमाली बुकीमा पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ ।

जङ्गलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपातलगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्ने भेडापालकको भनाइ छ । हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल हुने किसानको भनाइ छ । वन्यजन्तुको आक्रमणबाट बचाउन गोठमा भोटे प्रजातिका कुकुरसमेत बाल्ने गर्दछन् ।

पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्तीगोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ । हराउँदो घुम्तीगोठमा पशुपालन गर्ने परम्परागत पेसालाई अँगालेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने ताप्लेजुङका केही युवाहरू लागिपरेका छन् । - रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics