हरित वित्तको पैसा पूर्वाधारमा लगाउने अर्थमन्त्री पुनको पहिलो निर्णय

काठमाडौं – नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले जलवायु वित्तमार्फत आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधारमा लगाउने निर्णय गरेका छन् । उनको यो पहिलो निर्णय हो ।

नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको हुँदा त्यसलाई बढाउने दिशामा सरकारले जोड दिने उनको निर्णयमा उल्लेख छ ।

‘जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुँच स्थापित गर्न सम्बन्धित कोषहरुमा पहुँच, छलफल तथा वार्ता, राष्ट्रिय स्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र गुणस्तरीय आयोजना तयारीमा जोड दिने,’ अर्थमन्त्री पुनको निर्णयमा उल्लेख छ ।

जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस कृयाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय पनि उनको छ ।

नेपालमा जलवायु परिवर्तनले गरेको असरको सम्वोधन गर्ने आयोजना र कृयाकलापमा आवश्यक पर्ने स्रोत र हाल नेपालले प्राप्त गरेको जलवायु वित्तबीच भने ठूलो खाडल रहेको छ ।

‘ग्रिन क्लाइमेट फन्ड’को राष्ट्रिय कार्यक्रमको पाइपलाइनमा रहेका आयोजनाहरुको अद्यावधिक गर्ने निर्णय पनि उनले गरेका छन् ।

ग्रिन क्लाइमेट फन्डमार्फत संचालन हुने आयोजनाहरुलाई दिगो पुर्वाधारयुक्त बनाउन सम्बन्धित विषयगत मन्त्रालय र दातृनिकायहरुलाई मार्गनिर्देश गर्ने र क्लाइमेट फन्डहरुबाट प्राप्त हुने ग्रान्ट तथा सहुलियतपूर्ण ऋणलाई ब्लेन्ड गरी सरकारी तथा निजी क्षेत्रहरुलाई समेत परिचालन गर्ने निर्णय समेत भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics