सांसदले सदनमा उठाए जलवायु परिवर्तनको समस्यादेखि तमोर करिडोरको ठेक्का सम्म

संसदको शून्य समय

काठमाडौं – सांसदहरूले सरकारलाई जलवायु परिवर्तनको मारमा नागरिक परेको समस्यादेखि विकास निर्माणको गति सुस्त भएको सम्मका विषयमा ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहीबार बसेको बैठकको शून्य समयमा सांसदहरूले सरकारमा अनुहारमात्र परिवर्तन भएर नहुने भन्दै जनताले अनुभव गर्ने गरी काम गर्न सुझाव दिए ।

सांसद मञ्जु शर्मा अन्सारीले चुरे क्षेत्रको दोहन रोक्नुपर्न बताइन् । ‘आज विश्व नै जलवायु परिवर्तनको मारमा परेको छ । यसको असरबारे थाहा हुँदाहँुदै पनि हामीले चुरे दोहोन रोक्न सकेका छैनौँ’, उनले भनिन्, ‘जसका कारण मधेसमा असर देखिन थालेको छ, मधेस भविष्यमा मरभूमि हुने जोखिम छ ।’

सांसद योगेशकुमार भट्टराईले तमोर करिडोर ठेक्का प्रक्रिया, ताप्लेजुङ सडक निर्माण, पुल निर्माणबारे सरकारको ध्यानार्कषण गराए । सांसद रनकुमारी बलमपाकी मगरले मुटु, मिर्गौला र अर्बुद रोगको बढ्दो जोखिमप्रति चिन्ता प्रकट गर्दै विपन्न नागरिकका लागि उपचार निःशुल्क गराउन माग गरिन् ।

सांसद रघुजी पन्तले जनताले सुधारको महसुस गर्ने गरी काम गर्न सरकारलाई सुझाब दिए । ‘कालीकोटमा नुन किन्न लाइनमा बस्दा पनि रित्तो हात फर्किनुपर्ने बाध्यता छ । सरकार फेरिएको सार्थकता त्यति बेला हुन्छ जब कर्णालीका जनताले नुन किन्न लाइन बस्नुपर्दैन’, सांसद पन्तले भने, ‘जनताले पात्र मात्र हैन परिस्थितिमा समेत परिवर्तन खोजेको हो, त्यसका लागि शुभकामना ।’



सांसद भीमप्रसाद आचार्यले देशको अर्थतन्त्रको अवस्था सुधार गर्न सुझाव दिए । भने, ‘आज देश ठूलो आर्थिक मन्दिमा छ । विकास निर्माणका काम तीव्र रुपमा अघि बढ्न सकेको छैन । यस सरकारले अभिलम्ब सबै क्षेत्रले गति लिने काम गर्नुपर्छ ।’

नेकपा (एमाले)को संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नवगठित सरकारलाई असफल हुने छुट नभएको बताए । ‘सत्ता परिवर्तन भए पनि देशप्रतिको जनता अवस्था परिवर्तन भएको छैन । देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’, उनले भने, ‘यो सरकारलाई कमजोर र असफल हुने छुट छैन । हिँड्दाहिँड्दै जिम्मेवारीले आफैँ थिचिने खालको हुने छुट पनि यो सरकारलाई छैन ।’

सांसद रेखा यादवले झापामा बसोबास गर्दै आएका मेचे समुदाय राज्यबाट संरक्षणको पर्खाइमा रहेको बताइन् । सांसद रोशन कार्कीले सरकारले तत्कालीन समस्याको यथाशीघ्र समाधानको माग गर्नुभयो । उहाँले आरती साहको परिवारले न्याय पाउनुपर्ने पनि माग गरे ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics