अक्सिजन बिना अन्नपूर्ण–१ हिमाल आरोहण गर्दै अस्ट्रेलियन महिला पर्वतारोही

काठमाडौँ - अस्ट्रेलियाकी एक महिला पर्वतारोहीले अन्नपूर्ण–१ हिमाल बिना अक्सिजन आरोहण गर्ने भएकी छन् ।

पूर्व गाईड समेत रहेकी एली पेपरले यही वसन्त ऋतुमा अन्नपूर्ण–१ हिमाल आरोहण गर्न लागेकी हुन् । उनले विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरू अक्सिजनको प्रयोग नगरी सन् २०२६ भित्र आरोहण गर्ने लक्ष्य रहेको पनि शनिबार काठमार्डौमा पत्रकार सम्मेलन गर्दै सुनाइन् ।

अन्नपूर्ण–१ आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्येको एउटा हिमाल हो । उनी आफ्नो सपना पूरा गर्न तयारीका लागि हाल आफ्नो टिमसहित काठमाडौँ आइकी छिन् । अन्नपूर्ण–१ को आरोहण उनले हिमाल आरोहण कम्पनी सेभेन समिट ट्रेक्समार्फत गर्न लागेकी जानकारी दिइन् ।

बिना अक्सिजन हिमाल आरोहण गर्ने यात्राको सुरुवात भने उनले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमालबाट गरेकी थिइन् । पेपरले उनको लक्ष्य अन्तर्गत भने हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्ये दुई वटा हिमाल अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् ।

यससँगै ४८ वर्षीय पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसलाई जित्न, प्रोत्साहित गर्ने लक्ष्य राखेकी बताइन् । उनको हिमाल आरोहणमा २३ वर्षको अनुभव रहेको छ ।

विश्वमा हालसम्म छ जनाले मात्र अक्सिजन बिना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरू आरोहण गरेका छन् । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल अन्तर्गत सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनासलु, नाङ्गा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापामा पर्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics