संरक्षण पर्खिरहेको कछुवा

सतिश पौडेल -
हामीले सानैदेखि सुन्दै आएको ‘खरायो र कछुवा’को दौडको कछुवा आज–भोलि लोप हुने अवस्थामा पुगेको छ । वासस्थान विनाश, चोरीशिकारी, ब्यापार, मासु र अन्डाको लागि शोषण जस्ता विभिन्न मानविय गतिविधिले गर्दा कछुवाको अस्तित्व संकटमा परेको हो ।


कछुवा विश्वभर पाइने सरीसृप जीव हो । यसको शरिर विशिष्ट हड्डीको खोल (खबटा)ले ढाकेको हुन्छ जसले कछुवालाई आश्रय र सुरक्षा प्रदान गर्ने काम गर्छ । खतरा महसुस भएमा कछुवाले आफ्नो टाउको र खुटा खबटाभित्र लुकाउने गर्छ । यिनीहरू जलीय वा अर्ध जलीय प्राणी हुन् जसले आफ्नो जीवनको अधिकांस समय पानीमा बिताउँछन् भने कहिलेकाहीँ घाम ताप्न या अन्य विशेष उद्देश्यका लागि मात्र जमिनमा आउँछन् ।


कछुवाहरू सुस्त गति भएको र ढिलो परिपक्व हुने जीव हुन् । प्रकृतिको सबै भन्दा पुरानो जीव मानिने कछुवा निकै लामो समय सम्म बाच्नसक्ने प्राणी हो । यिनीहरूको करीब डेढ सय (१५०) वर्षसम्म बाँच्न सक्छन् । यिनीहरू लजालु स्वभावका हुन्छन् र विशेषगरि जंगल र पोखरीको शान्त वातावरण मन पराउँछन् । अलिकति खैलाबैला हुदाबित्तिकै यिनीहरू पानी या घाँसभित्र लुकिहाल्छन् ।


कछुवाहरू सर्वभक्षी प्राणी हुन् । यिनीहरूले साना माछा, किरा, फट्यांग्रा, घुँगीसँगै पात र सडेगलेका फलफूललाई आफ्नो मुख्य आहार बनाउने गर्छन् । कछुवाहरूले बीउ वितरण, खनिज चक्र संचालन र कार्बन भण्डारण लगायत धेरै स्थलीय र जलीय पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्याउँछन् । यिनीहरूले सडेका, मरेका र कुहिएका वस्तु खाएर वातावरण सफा राख्न मद्दत पुर्याउँछन् ।


आई.यू.सी.एन.को कछुवा र ताजा पानीको कछुवा विशेषज्ञ समूहको प्रतिवेदन २०२१ अनुसार नेपाल कछुवा र ताजा पानीको कछुवा प्रजातिका हिसाबले विश्वको १८औं कछुवाको धनी देश हो । आई.यू.सी.एन.का अनुसार नेपालमा १६ प्रजाति र १८ उपप्रजातिका कछुवाहरू पाइन्छन् । जसमध्ये करिब १० प्रजातिका कछुवा खतराको सूचिमा परेका छन् भने २ प्रजातिका कछुवा लोप हुने स्थितिमा छन् ।


पछिल्लो समयमा तिब्र वासस्थान विनाश, घरपालुवा जनावर सरह पाल्नाले, मासु र अण्डाको लागि मार्नाले, अवैध चोरीशिकारि तथा तस्करीको कारण नेपालमा कछुवाको अस्तित्व संकटमा परेको छ । यसको मासु र खबटाको औषधीय गुण हुने बिश्वासको कारण कछुवालाई समात्ने गरिन्छ । यद्दपी कछुवाको मासु वा खबटाको औषधी हुन्छ भन्ने कुनै वैज्ञानिक आधार भने छैन । साथै, कछुवाको खबटा प्रयोग गरि सजाएर निर्माण गरिएका सजावटी सामान स्थानीय बजारमा खुल्लेआम बेच्ने गरेको पनि पाइन्छ ।



नेपालका धेरै प्रजातिका कछुवा सिमसारमा आश्रित छन् । अतिक्रमण र जलवायु परिवर्तनका कारण पुराना सिमसार र दलदले जग्गा सुकेर जाँदा कछुवाको वासस्थान पनि मासिँदै गएको पाइन्छ । यसका साथै वन फँडानी र आगलागीका कारण वासस्थान नाशिंदै जाँदा यिनीहरू को अस्तित्व थप संकटमा परेको छ । नेपालमा कछुवालाई स्थानीय भाषामा ‘कछुवा’, ‘केचुवी वा ठोटरी’ भनेर चिन्छन् ।


नेपालमा कछुवालाई बिष्णु भगवानको अवतार मानि पुजा पनि गरिन्छ । कतिपय घरमा धातु, सिसा वा काठको कछुवालाई पुजा स्थानमा राख्ने पनि गरिन्छ । यसका साथै कतिपय घरमा जिउँदै कछुवा पनि पाल्ने गरिन्छ । यसरि घरमा कछुवा पाल्दा शुभ हुने, धन सम्पती प्राप्त हुने, शत्रुहरूको नाश हुने, परिवारका व्यक्तिको आयु लामो हुने, परिवारमा शान्ति कायम रहने, समस्या र नकारात्मक चीजहरूलाई घरबाट टाढा राख्ने जस्ता भ्रम जनमानसमा पाइन्छ । अझ कछुवालाई इनार या कुवामा पालेमा त्यसको पानि कहिलै नि नसुक्ने अन्धविश्वास पनि रहेको छ । यस्ता भ्रमहरूले गर्दा नेपालमा कछुवाको संरक्षण मा कठिनाइ पर्न गएको छ । कछुवालाई भ्रम र आस्थाले मात्र नभई शौखका लागि पनि पाल्ने गरेको पाइन्छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का अनुसार नेपालमा कछुवालगायतका वन्यजन्तुलाइ क्षति पुर्यारउन, मार्न, बिक्री वितरण गर्न, पाल्न निषेध गरेको छ । नेपालको व्यवसायीकरूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० का अनुसार संकटापन्न र अतिसंकटापन्न कछुवा बाहेकका अन्य कछुवालाइ ब्यबसायिक रूपमा पाल्ने अनुमति दिएको छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरिएको छ । त्यसकारण बिनाअनुमति कछुवालाई समातेर घरमा पाल्नु गैरकानुनी हो ।


नेपालको वन्यजन्तु संरक्षण सम्बन्धि कानुनले कछुवाको संकलन, बिक्री वितरण, ओसार–पसारतथा पालन गैरकानुनी भनेता पनि जनचेतनाको अभाव र कडा कानुनिकार्यान्वयनको अभावले यसको चोरी सिकारी घटिरहेको छैन । नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले पनि कछुवाको बासस्थानलाई असर पुगेको पाइन्छ ।


यदि यिनीहरू को तिब्र संख्या घट्ने क्रम जारि रहने हो भने नेपालको भावी पुस्ताले कछुवालाई आफ्नो देशभित्र प्राकृतिक वासस्थानमा देख्न पाउने छैनन् । कछुवाहरू नेपालमा संरक्षणको सन्दर्भमा कम प्राथमिकतामा परेको जीव हो । कछुवाहरू न त राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण ऐनको संरक्षित सूचीमा समावेश गरिएको छ न त नेपालमा यसको राम्रो संग अध्ययन अनुसन्धान नै भएको छ ।


यस्तै देश भित्रका तथा बिदेशी सहयोगी संघसंस्थाहरूले पनि आकर्षक प्रजाति जस्तै बाघ, भालु, गैडा, हाती जस्ता प्रजातिको संरक्षण र अनुसन्धानमा बढी चासो देखाइएको पाइन्छ । जसले गर्दा कछुवाको अध्ययन, अनुसन्धान र संरक्षणलाइ सहयोग जुटाउन गाह्रो छ । कछुवाको सानो आकार र लजालु प्रवृतिले गर्दा यो अनुसन्धान गर्दा सजिलै भेटिदैन । जसले गर्दा अनुसन्धान र संरक्षणको सन्दर्भमा कछुवा जस्ता प्रजाति ओझेलमा परेको पाइन्छ । नेपालमा कछुवाको अबस्था, वितरण, आनीबानीमा कम अनुसन्धान भएको पाइन्छ र संरक्षणका प्रयास पनि कम भएका छन् जसले तिनीहरूको अस्तित्वलाई खतरामा धकेलिरहेको छ ।



यसो त नेपालमा कछुवा संरक्षण र अनुसन्धानको कार्य हुदै नभएको पनि हैन । नेपालमा कछुवा संरक्षण र अनुसन्धानको कार्य कम प्राथमिकतामा परेता पनि सरकार, विभिन्न संघसंस्था तथा संरक्षणकर्मी र अनुसन्धानकर्मी द्वारा कछुवाको संरक्षणको केहि प्रयाशहरू भने भएका छन् । सरकारले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ मार्फत कछुवा मार्न, पाल्न, हानि पुर्याउन तथा ओसारपसार र ब्यापार गर्न निषेध गरेको छ । यसका साथै कछुवाको सख्या बृदि र संरक्षणका निम्ति चितवन र बर्दियामा कछुवा संरक्षण केन्द्रको संचालन गरेको छ ।


त्यस्तै लोप हुने अवस्थामा पुगिसकेको कछुवाको संरक्षणका लागि उभयचर तथा सरीसृप संरक्षण समाज नेपाल (आर्को नेपाल) र सुखानी शहीद स्मारक प्रतिष्ठान (सुम्मेफ)को सहकार्यमा झापाको अर्जुनधारा नगरपालिका–९ सालबाडीमा कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भएको छ जुन सामुदायिक स्तरमा नेपालमा कछुवा जोगाउन लागिपरेको एकमात्र संरक्षण केन्द्र हो । यसको उद्देश्य लोपोन्मुख कछुवा प्रजातिको संरक्षण गर्ने, कछुवाको प्राकृतिक वातावरणमा प्रजनन गरी वृद्धि गराउने, मानव गतिविधिका कारण जोखिममा परेका कछुवाहरूको उद्धार गर्ने तथा कछुवासम्बन्धी अध्ययन अनुसन्धानका लागि सहजीकरण गर्ने रहेको छ । साथै, पछिल्लो समयमा शैक्षिक सस्थांन लगायत विभिन्न अनुसन्धानकर्ताद्वारा कछुवा सम्बन्धि विभिन्न पक्षमा अनुसन्धान हुने क्रम बृद्दी भएको पाइन्छ ।


यसका बाबजुत नेपालमा कछुवाको संख्या दिनानुदिन घट्दै छ । नेपालमा मुख्यरूपमा कछुवाको बासस्थान संरक्षित क्षेत्र बाहिर पर्ने भएकाले कछुवाको अस्तित्व अझ चिन्ताजनक छ । कछुवाको संरक्षणमा कछुवाको बासस्थान आसपासमा बस्ने स्थानिय जनताको मुख्य भूमिका रहन्छतर जनचेतनाको कमीका कारण कछुवा संरक्षणमा थप चुनौतीपूर्ण बनेको छ । संरक्षित क्षेत्र बाहिर स्थानीयको सक्रिय सहभागितामात्र नै कछुवाको अस्तित्व बचाउन सम्भब छ । दिर्घकालिन रूपमा कछुवा संरक्षण गरि यसको अस्तित्व जोगाउनका लागि कछुवाको बासस्थानको संरक्षण गरि यसलाई यसको प्राकृतिक बाताबरणमा सुरक्षित रूपमा बाच्ने, हुर्किने र प्रजनन गर्ने बाताबरणको सिर्जना गरिनुपर्छ । यसका लागि वन्यजन्तु संरक्षण सम्बन्धि कानुनको कडा कार्यान्वयन, जनचेतनामा वृद्धि गरि यसको संरक्षणमा जनसमुदायलाई नै संलग्न गराउनुपर्दछ । ‘लोपोन्मुख अवस्थामा पुगिसकेका कछुवाको संरक्षणका लागि संरक्षण केन्द्र वा प्रजनन केन्द्रको स्थापना गरि तिनको प्रजनन गराएर संख्या बढाउन पनि सकिन्छ ।
(पौडेल वन विज्ञान संस्थान, पोखरा क्याम्पस, पोखराका विद्यार्थी हुन्)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics