हरित जलवायु कोषको पहुँचमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडौं – विकासोन्मुख देशहरूको लागि विश्वकै सबैभन्दा ठूलो मानिने हरित जलवायु कोष (ग्रीन क्लाइमेट फन्ड)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी)लाई जलवायु कार्यका लागि लगानी भित्र्याउन सम्बन्धन (एक्रिडेसन) प्रदान गरेको छ ।

अफ्रिकी देश रुवान्डाको किगालीमा सम्पन्न कोषको ३८औं सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । पहिलोपटक निजी क्षेत्रबाट एनआईएमबीले यस प्रकारको सम्बन्धन पाएको हो । यो सँगै नेपालमा हरित जलवायु कोषमा पहँुच स्थापित गर्ने निकायको संख्या तीन पुगेको छ ।

यसअघि यो कोषका लागि वैकल्पिक ऊर्जा विकास केन्द्र (एइपीसी)र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) गरी दुई सार्वजनिक निकाय नेपालका सम्बन्धन प्राप्त एकाइ थिए ।

सन् २०२३ को जनवरीमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेड गाभिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) स्थापना गरिएको थियो । सम्बन्धन प्राप्त गर्न जनवरी, २०१९ मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले कोषको अनलाइन सम्बन्धन प्रणालीमा आवेदन गरेको थियो ।

हरित जलवायु कोषको सन् २०२४ देखि सन् २०२७ सम्मको रणनीतिक कार्ययोजना अन्तर्गत सम्भावित निवेदकले पु¥याउन सक्ने योगदानको आधारमा एनआइएमबीलाई कोषको मध्यमस्तरको क्याटेगोरीअन्तर्गत सम्बन्धन उपलब्ध गराएको हो ।

बैंकले कोषसँग ऊर्जा उत्पादन तथा पहुच, यातायात, पूर्वाधार विकास, बन तथा भूउपयोग, जीविकोपार्जन, इकोसिस्टम तथा इकोसिस्टम सर्भिसेजलगायतको क्षेत्रमा जलवायुमैत्री विभिन्न परियोजना तथा कार्यक्रम सञ्चालन गर्न सक्ने प्रस्ताव गरेको छ ।

कुनै पनि निजी, सार्वजनिक, गैरसरकारी, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय निकायले हरित जलवायु कोष (जिसिएफ)ले निर्धारण गरेको मापदन्ड पूरा गरी सम्बन्धन हासिल गर्न सक्ने प्रावधान छ । यी निकायले कोषको सहयोगमा सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि प्रस्ताव पेस गर्ने तथा आयोजना तथा कार्यक्रमको व्यवस्थापन गर्न पाउँछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics