ताप्लेजुङमा वन जलिरहेछ, सरकार गम्भिर बनोस् : सांसद् उर्मिला थेबे

काठमाडौं – नेकपा एमालेकी सांसद् उर्मिला थेबेले ताप्लेजुङ जिल्लामा दैनिक वन डढेलोका घटना बढ्दै गएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गरेकी छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जिल्ला बिपद् व्यवस्थापन समितिले जिल्लाका ६१ वटा वडालाई बाढी पहिरो, आगलागी, खडेरी र चट्याङको जोखिमका दृष्टीले वर्गिकरण गरेको र आगलागीका हिसाबले ४१ वटा वडा उच्च जोखिममा रहेकाले यस्ता विपत् न्यूनिकरणको योजना बनाउन आग्रह गरिन् ।

‘वन धेरै र वस्ती थोरै भएको जिल्ला हो ताप्लेजुङ । जैविक विविधतामा ताप्लेजुङ धनी छ । तर, सुख्खा याम लागेसँगै जिल्लाका विभिन्न ठूला वन जलिरहेका छन् । केही दिन अघिबाट फुङ्लिङ, पाथीभरा याङ्वरक लगायतका स्थानका वनमा डढेलो लाग्दा लाखौं रूख, जडिबुटि र वन्यजन्तु जले । नियन्त्रणको उपाय नै भएन । किनकी जिल्लामा पनी नपरेको नै ७ महिना भयो,’ उनले भनिन् ।

फुङ्लिङ नगरपालिकासँग एउटा मात्रै दमकल रहेको र त्यो पनि मेची राजमार्ग आसपास सम्म मात्रै पुग्न सक्ने उल्लेख गर्दै उनले यसको पानीले त्यत्रा वनमा लागेको आगो नियन्त्रण सम्भव नै नहुने सुनाइन्, भनिन्, ‘पानीका मुहान सुकेका छन् । जलवायु परिवर्तनको उच्च असर जिल्लाले भोगिरहेको छ । सामुदायिक वनहरू आर्थिक अभावमा सक्षम बन्न सकेका छैनन् । जसको कारण वर्षेनी यहाँको वन जलिरहन्छ । यो विषयमा सरकार गम्भिर बनेर नियन्त्रणका प्रयासमा सघाउन म ध्यानाकर्षण गर्छु ।’

उनले जिल्लामा अहिले दैनिक विभिन्न वनमा आगलागी भइरहेको उल्लेख गर्दै यो नियन्त्रण गर्न सरकारले पनि साथ दिनुपर्ने बताइन् । भनिन्, ‘प्रत्येक स्थानीय तहमा दमकल, उपकरण जनशक्ति व्यवस्थापन गरोस, सामुदायिक वनलाई आर्थिक रूपमा मजबुत बनाउने प्रयास होस् ।’
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics