पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ: प्रधानमन्त्री

गण्डकी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरका रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ”, प्रधानमन्त्री प्रचण्डले भने “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताए । “व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध व्यक्त गर्दछु”, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारका रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्ने बताए ।

उनले गण्डकी प्रदेशको विकासमा दुरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माणलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताए ।

“पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।”

लक्ष्यअनुसार पर्यटक भित्र्याउन खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपील गरे ।

त्यस अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनको राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने विश्वास व्यक्त गरे। दिगो पर्यटन विकासका माध्यमबाट गण्डकी प्रदेश मात्रै नभई सिङ्गै देशको समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणासँगै पर्यटन पूर्वाधार निर्माणमा जोड दिए । उनले पर्यटन संस्कृतिले समाजलाई एकताबद्ध बनाउने धारणा राखे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सृजना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटन थप पूर्वाधार निर्माण गरिने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics