वनमा चराले पनि लगाउन सक्छ डढेलो !

काठमाडौं - सुख्खायाम सुरु भएसँगै नेपालका विभिन्न स्थानका वन जलिरहेका छन् । डढेलोले लाखौ रूख र वनहरू खरानी भएका छन् । जडीबुट्टी र वन्यजन्तु जलेका छन् । धुवाँले अकाश ढाकेको छ । वनको आगोले घर भेटेपछि धेरै परिवार घरबार विहीन भएका छन् । आगलागीले दिन–दिनै करोडौंको क्षति गरिरहेको छ । तर, आगो कसरी लाग्यो अनुसन्धान कमै हुन्छ । कतै–कतै वनमा आगो लगाए ‘घाँस पलाउँछ’ भन्ने गलत धारणाले आगो लगाइएको छ । कतै लापरबाही र कतै जनचेतना अभावले आगलागीका घटना बर्सेनि बढीरहेका छन् ।

के आगो मानिसले मात्रै लगाउन सक्छ ? वा, वनमा लागेको सबै आगो मानिसकै कारण लागेका हुन् ? यस्ता प्रश्न धेरै समयदेखि हामीले सुनेका छौं । नेपालको अवस्थामा वनमा आगो लाग्नुमा मानिस नै कारण हुन सक्लान् । तर, अन्य दुई कारणले पनि वनमा आगो लाग्ने विज्ञ बताउँछन् । एक – हावाहुरी चल्दा सुकेका रूख एक–आपसमा रगटिएर आगो निस्कन सक्छ । र, दुई वनमा चराले पनि आगो लगाउँछन् । यो दोस्रो विषय सुन्दा हामीलाई अचम्म लाग्नसक्छ । तर, एक अनुसन्धानले पुष्टि गरेको छ कि – एक प्रजातिको चरा यति बाठो हुन्छ, त्यसले वनमा आगो पनि सल्काउन सक्छ । उनीहरूको मुख्य लक्ष आफुलाई आवश्यक सिकारको व्यवस्था गर्नु हो ।

किन र कसरी चराले लगाउँछ डढेलो ?
आगो लगाउने र नियन्त्रण गर्ने क्षमता मानव जातिको सबैभन्दा ठूलो उपलब्धि मध्ये एक मानिन्छ । तर, आगो चराले पनि लगाउन सक्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, अष्ट्रेलियाको ब्राउन फाल्कन र ब्ल्याक काइट्स प्रजातीका चराहरू जंगलमा आगो लगाउन पनि सिपालु हुन्छन् ।

अब यहाँ प्रश्न आउन सक्छ, – आखिर ती चरा किन जंगलमा आगो लगाउँछन् ? यसको उत्तर पनि अनुसन्धानकर्ताले खोजका छन् । अनुसनधनमा संलग्न विज्ञ भन्छन्, ‘ती चरा जंगलमा आगो लगाएर आफूलाई सिकार तयार पार्छन् । पाकेको सिकार मज्जाले खान्छन् ।’ आगोमा पाकेको सिकार वा आगलागीमा भागेका वन्यजन्तु उनीहरूको निसाना पर्छन् ।’

अनुसन्धानमा संलग्न एक विद् डा. मार्क बोन्टाले आफ्नो पुस्तकमा पनि यो कुरालाई उल्लेख गरेका छन् । उनका अनुसार ती चराहरूले आफ्नो आहारा कम भएको समयमा जंगल नजिकका वस्तीका घर अघि बालेको आगो वा अन्य वनमा लागेको आगोको कोइला भएको ठुटा (लठी) चुच्चाले च्यापेर वा खुट्टाले बोकेर अर्को वनमा लगेर छाडिदिन्छन् । जब वनमा आगो लाग्छ, उनीहरू सुरक्षित ठाउँमा बसेर जंगलबाट बच्न भाग्ने आफ्ना सिकार र जलेका सिकारको निगरानी गर्छन् । जब आगो निभ्छ र आफु सुरक्षित भएको महसुस हुन्छ उनीहरू पाकेको सिकार र भागेकालाई खाएर बस्छन् ।

अष्ट्रेलियाको उत्तरी क्षेत्रका आदिवासीहरूको हितको प्रतिनिधित्व गर्ने अष्ट्रेलियाका एक वकिल बब गोसफोर्डले संकलन गरेको एक तथ्यमा पनि चराहरूले जंगलमा आगो छाडेको कुरा उल्लेख छ । उनले अझै रोचक त के लेखेका छन् भने, ‘ती चरा यति सम्म बाठा हुन्छन् कि उनीहरू आगो चाँडै नियन्त्रणमा होस् भनेर जंगलमा बस्ने आदिवासीहरूको नजिकैको क्षेत्रमा आगो लगाउँछन् । र, ती आदिवासीलाई आगो नियन्त्रणमा प्रयोग गर्छन् ।’

ती चराहरूले जलिरहेको लठी उठाउँछन् र तिनीहरूलाई स्वादिष्ट शिकार लुकेको हुन सक्ने शंका गर्ने ठाउँहरूमा छोड्छन् । त्यसपछि, छेपारो, सर्प, भ्यागुता र साना चराहरू आगोबाट टाढा भाग्दा, उनीहरू त्यसलाई नियन्त्रणमा लिएर खाने पनि गर्छन् ।

यस्ता कुरालाई अस्ट्रेलियाका अग्निनियन्त्र, आदिवासी व्यक्तिहरू र साथै ऐतिहासिक साहित्यहरूले पनि आफ्नो स्मरणमा उल्लेख गरेका छन् । यो विषयमा अस्ट्रेलियामा विभिन्न १४ वटा कथा पनि चर्चित् छन् । अष्ट्रेलियाको चार्ल्स स्टर्ट युनिभर्सिटीमा पोष्ट ग्रेजुएट पक्षीविज्ञान पाठ्यक्रम पूरा गरेका गोसफोर्ड भन्छन्, ‘यहाँ आदिवासी, आगो र चराको राम्रो सम्बन्ध छ । चराले आगो लगाउँदा आदिवासी पनि खुसी हुन्छन् । उनीहरू पनि यसको फाइदा उठाउँछन् ।’

न्यू इङ्गल्याण्डको विश्वविद्यालयमा कार्यरत शिकारी चराहरूका विशेषज्ञ स्टिभ डेबसले डेली मेललाई दिएको अन्तवार्तामा भनेका छन्, ‘ती चरा आगो फैलाउन सुख्खा समयमा सक्रिय रहन्छन् । मैले चराले आगो बोकेर उडेको देखेको छु । तर, त्यसलाई तस्बिरमा लिन भ्याइन ।’ ब्ल्याक काइट्स र ब्राउन फाल्कनहरू जानाजानी आगो फैलाउन पर्याप्त बुद्धिमानी रहेको उनको तर्क छ ।

उनका अनुसार ती चराहरूले आगो बोकेर डढेलो लगाउने मात्रै होइन वनभोज स्थलका रोटीका टुक्रा पानीको खाल्डोमा हाल्ने र त्यो खान माछा वा भ्यागुत्ता निस्किए सिकार गर्न पनि माहिर हुन्छन् । उनीहरू सिकार गर्ने उपाय हरेक खोजिरहेका हुन्छन् । यो अनुसन्धानले चराहरूले आगो लगाउने र पानीमा केही वस्तु राखेर सिकार खोज्ने कार्य मानिसहरूको गतिविधिलाई हेरेर पनि सिकेको हुनसक्छ ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics