वन बढ्यो कि अतिक्रमण ?

समाचार टिप्पणी

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहिबार अन्तर्राष्ट्रिय वन दिवस मनाइयो । कार्यक्रमहरूमा उपभोक्ता, विज्ञ, व्यवस्थापक र सरकारी सरोकारवाला भेला भए र वनकै विषयमा बहस गरे । ‘हरियो वन, नेपालको धन’ भन्ने पुरानो उक्ति प्रत्येक कार्यक्रममा उच्चारण भए । वनको फाइदाका विषयमा चर्चा भयो, बहस भयो र ‘वन बचाए सबै बाँचिन्छ’ भन्ने कथन पुनः दोहोर्याइयो । तर, बुधबार सम्म देशका विभिन्न स्थानमा लागेको डढेलोले वन खाइरहेको थियो । वन जोगाउन सक्रिय रहनुपर्ने केही व्यक्ति मुख लुकाउँदै अदालत धाइरहेका थिए । र, अख्तियार वन मुद्दाका फाइल पल्टाइरहेको थियो । आखिर वन भित्रका समस्या घट्नुको साटो डढेलो जस्तै सल्किरहेको त छैन ? वन बढ्यो भनेर सानु स्वरमा भन्दै गर्दा अतिक्रमण चिच्याइरहेको त छैन ? यस तर्फ पनि सोच्ने समय आएको छ ।


के नेपालको अवस्था यस्तै हुनुपर्ने हो ? प्रश्न विश्वभरबाट गरिन्छ । वनले ढाकिएको क्षेत्रफल नेपालमा ४५.३१ प्रतिशत छ । सन् २०१० देखि २०१४ सम्म वनले ढाकेको क्षेत्र ४४.७४ प्रतिशत थियो । यो तथ्यांकलाई हेर्दा वनले ढाकेको क्षेत्रफल त बढेकै देखिन्छ । तर, क्षेत्रफल भित्र कस्ता रूख छन् र कसरी संरक्षण गरिएको छ भन्ने मुख्य प्रश्न हो । के भित्र–भित्रै अतिक्रमण त बढेको छैन ? प्रश्न गर्ने अवस्था घटेको छैन । किनकी केही सामुदायिक वनका पदाधिकारी पनि त्यस्ता घटनामा मुछिएका छन् । तर, कहीले राम्रो पनि गरेका छन् । वनको महत्त्व बुझेका छन् ।



नेपालको कूल वन क्षेत्रको क्षेत्रफलमा वृद्धि भएको देखिए पनि केही चुनौतीहरू देखिएका छन् । यस्ता चुनौतीको वर्षमा मनाइने एक पटकको दिवसमा छलफल गरेर होइन हरेक दिन केलाएर समाधान गर्नुपर्छ । नत्र ‘हरियो वन, नेपालको धन’ कथा मात्रै बन्न सक्छ ।

सरकारको एक तथ्यांक अनुसार सामुदायिक २२ हजार ६ सय ८२, साझेदारी ३१, कबुलियती सात हजार ९ सय ७६, धार्मिक १ सय ८६ र निजी ५ हजार ४ सय ६० वटा वन छन् । नेपालमा समुदायमा आधारित वन ३८ प्रतिशत छन् भने ३० लाख बढी घरधुरी संलग्न छन् । कार्बन उत्सर्जन न्युनिकरण गर्ने सबैभन्दा उत्तम स्रोत जंगल व्यवस्थापन नै हो । यसलाई सबैभन्दा सस्तो र सजिलो माध्यम पनि मानिन्छ । बिरुवा जति बढ्यो त्यसले खाना बनाउनका लागि वायुमण्डलमा भएको कार्बन सोस्छ । कार्बन सोस्ने उत्कृष्ट विकल्प वनजंगल व्यवस्थापनलाई मानिन्छ । तर, यो भनाइमा मात्रै सिमित राख्नु हुन्न प्रयोग गर्नै पर्छ ।


एक तथ्यंक अनुसारा नेपालमा पहिचान भएका ११८ प्रकारका पारिस्थितिकीय प्रणालीमध्ये ११२ वटा वनभित्रै पर्छन् । नेपालमा पाइने १२ हजारभन्दा बढीको संख्यामा पहिचान गरिएका जडिवुटीको स्रोत पनि वन हो । एक राष्ट्रिय सर्वेक्षण अनुसार कूल भूभागको झण्डै ४५ प्रतिशत बढी भूभाग वनजंगलले ढाकेको छ । त्यसमध्ये करीब १८ प्रतिशत वन राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रमा पर्छ । नेपालको कूल वन क्षेत्रको क्षेत्रफलमा वृद्धि भएको देखिए पनि केही चुनौतीहरू देखिएका छन् । यस्ता चुनौतीको वर्षमा मनाइने एक पटकको दिवसमा छलफल गरेर होइन हरेक दिन केलाएर समाधान गर्नुपर्छ । नत्र ‘हरियो वन, नेपालको धन’ कथा मात्रै बन्न सक्छ ।


चुरे तथा तराईका वनमा विनाश तथा दिगो वन व्यवस्थापनको अभ्यास सबै ठाउँमा गर्न नसक्नु अहिलेको मुख्य चुनौती हो । वन क्षेत्रको तुलनामा संरक्षण र व्यवस्थापनका लागि जनशक्तिको अभाव छ । जसले गर्दा वन क्षेत्रबाट लिनु पर्ने आर्थिक तथा वातारणीय लाभ प्राप्त हुन सकेको छैन । वन क्षेत्र त बढ्यो तर त्यसबाट देशको ढुकुटीमा सोझो प्रभाव भने परेको देखिएको छैन । वनजंगल बढे पनि जंगलमै आधारित उद्योग, कलकारखाना खासै खुल्न सकेका छैनन् । समुदायले दाउरा, घाँस, घर बनाउने काठपात, पानीको मुहान उपलब्ध हुने परम्परागत कुराबाहेक रोजगार सिर्जना हुने गरी प्रगति देखिएको छैन । वन र वातावरणसँग सम्बन्धित सरकारले बनाउने योजना चुनौती बढाउने होइन समाधान गर्ने हुनुपर्छ । वन बढेसँगै व्यवस्थापन र आम्दानी पनि बढ्नुपर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics