‘उपत्यकाको सभ्यता, वातावरण र जलसतह जोगाउन हिटी बचाउनुपर्छ’

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउन हिति (हिटी) प्रणालीको विज्ञान बचाउनु पर्ने बताएकी छन् ।

हरेक बर्ष मार्च २२ तारिखका दिन मनाइने ‘विश्व पानी दिवस’को सन्दर्भ पारेर शुक्रबार सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा आयोजना गरेको ‘हिति प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भनिन्, ‘वडास्तरीय सक्रियताबाट छिट्टै नतिजा प्राप्त हुन्छ । यसकारण वडा तहबाट प्रयास थालिनु पर्छ । यसले सांस्कृतिक सहरको मर्म बचाउन ठूलो योगदान हुनेछ ।’

पानीको स्रोत संरक्षण तथा व्यवस्थापन, पानी पुनःभरण, भण्डारण, वितरण, प्रयोग र पुनःप्रयोगका लागि पूर्खाहरूले निर्माण गरेको नेवाः सभ्यतासँग जोडिएको प्रणाली दिगो र बैज्ञानिक छ । यसकारण रैथाने विधिलाई बचाउनु पर्ने डंगोलको धारणा थियो ।

‘काठमाडौँ उपत्यकाको प्राचीन सभ्यतामा हिटी (हिति) प्रणाली अनिवार्य थियो । भूमिगत र बर्षातको पानी सतहको उपयोग गरेर पानीको वहावलाई नियमित गराएर सहरी विकासको पूर्वाधार आवश्यकता परिपूर्ति गर्ने प्रणालीका रूपमा स्थापित थियो । सहरी विकास पद्धतिले रैथाने विधिको बिज्ञान नबुझी मास्दै गयो ।’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हिति संरक्षणविद् पद्मसुन्दर जोशी भनेका छन् ।

‘नेपाल भाषामा सफालाई ‘यचु’ भनिन्छ । यही यचुबाट ‘यि’ वा ‘इ’ र ‘झोल’को अर्थमा ‘ति’ मिलेर ‘चयुति’ भएको देखिन्छ । कथ्य भाषामा ‘यचुति’, ‘यिति’ हुँदै ‘हिति’ भएको हो । शब्दबाटै यो स्थान पवित्र छ । हितिहरूमा पाइने शिलालेखहरूमा यसको उपयोगका विषयमा नियम लेखिएको पाइन्छ । मलमुत्र लिएर, छालाको जुत्ता लगाएर जान नहुने, फोहोर फाल्न नहुने यसका नियम हुन्,’ जोशीले भने ।

उनकाअनुसार हिटी प्रणालीको लिखित दस्तावेज राजा वृषदेवको पालामा स्वयम्भूको गोपालराज बंशावलीमा उल्लेख छ । उपत्यकालाई सिङ्गो रूपमा हेर्ने हो भने राजा मानदेवका नाति भारवीले सन् ५७० मा बनाएको पाटनको मंगः हिति अहिलेसम्म सञ्चालनमा रहेको सबैभन्दा पुरानो हो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्यांक उदृत गर्दै जोशीले उपत्यकामा ५७३ वटा हिति प्रणाली भएको बताए । जसमध्ये ३५ प्रतिशतमा अहिले पनि पानी आउँछ । ४९ प्रतिशत सुख्खा भएका छन् । ४ प्रतिशत हराइसकेका छन् । ७ प्रतिशतको नामनिसान छैन ।

‘हिटी जल प्रवाहसँग सम्बन्धित प्रणाली हो । जलाधार क्षेत्र, भूमिगत तह, अन्य जल भण्डार यसका स्रोत हुन् । यससँग प्रकृति र प्राणी सभ्यता अन्तरसम्बन्धित छन्,’ वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘हिति प्रणालीको संरक्षण र विकासका बारेमा थालिएको बहस रोकिनु हुँदैन । यसको बैज्ञानिक पक्ष परिवार, समाज र सहर स्तरमा ग्रहण नहुञ्जेल कुरा गरिरहुन पर्छ । यसले लाभ दिन्छ ।’

मानव जीवनयापनसँर्ग जलचर, विरुवा तथा प्राकृतिक रूपमा उम्रिने रैथाने झारपातसँगसमेत हिति प्रणालीको सम्बन्ध भएको महर्जनको तर्क थियो । सम्पदा तथा पर्यटन विभागले मूर्त अमूर्त सम्पदाको संरक्षण र अभिलेखन गर्ने प्रक्रियामा हिति प्रणालीसँग सम्बन्धित राजकुलो, पोखरी र पानीका नालीहरूको सञ्जालको प्राचीन प्रयोग खोजी गरिरहेको छ । विभागकी निमित्त प्रमुख कुमारी राईले भनिन्, ‘सहर विकास र विस्तार हुने क्रममा कतै पानीका मुहान नै छोपिए, हराए, कतै पानीको निकास पुरिए । त्यसैले पुनरुत्थानको कार्यक्रम चलाएका हौँ ।’

महानगरपालिकाले अस्तित्वमा रहेका ढुङ्गेधाराको अस्तित्व बचाउन महानगर गौरव योजनाअन्तर्गत ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनस्र्थापना’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । जल सम्पदासँग जोडिएका महानगरभित्रका ढुङ्गेधारा, हिटी र पोखरी जस्ता ५० वटा सम्पदा पुनस्र्थापना गर्ने यसको लक्ष्य हो । यसका लागि २० करोड रूपैयाँ विनियोजित छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics