वन मन्त्रीलाई सुझाव : ‘वातावरण प्राविधिक चाहियो, वातावरण परिषद् गठन होस्’

काठमाडौं – नेपाल वातावरण समाजले नवनियुक्त वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीलाई वातावरण क्षेत्रको हरेक विषयलाई गम्भिर रूपमा लिएर योजना बनाउन आग्रह गरेको छ ।

शुक्रबार बधाई दिन पुगेको समाजको कार्यसमितिसहित अन्य वातावरणकर्मीको टोलीले मन्त्री साहलाई विभिन्न मागसहितको ज्ञापन पत्रसमेत बुझाएको समाजका अध्यक्ष अनिल केसीले जानकारी दिए । मन्त्रीसँगको भेटमा दिगो विकासको मुख्य खम्बाको रूपमा रहेको वातावरण क्षेत्रलाई हलुका सोच्न नहुने बताउँदै राज्यलाई थुप्रै वातावरण प्राविधिक चाहिएको, तर राज्यले खपत गर्न नसकेको तर्फ पनि ध्यानाकर्षण गरिएको उनको भनाई छ ।

समाजले मन्त्री साहलाई बुझाएको माग पत्रमा अन्य प्राविधिक विषय र पेशाहरूमा राज्यले पहिचान गरेको परिषद्हरू रहेको तर, वातावरण जस्तो जल्दोबल्दो र गहन विषय र पेशालाई राज्यले उपेक्षा गरेको उल्लेख गर्दै नेपाल वातावरण परिषद् गठनका लागि पहल गर्न समेत आग्रह गरेको छ ।
समाजले यसका लागि हालसम्म गरेको प्रयासको प्रगति विवरण र मस्यौदा परिषद् गठन विधेयक समेत मन्त्रीलाई हस्तान्तरण गरेको थियो । राज्यलाई थुप्रै वातावरण प्राविधिक चाहिए पनि हालसम्म निजामती सेवामा वातावरण पेशाकर्मीहरू रा. प. तृतीय श्रैणीमै मात्र सिमित हुनुपरेको यथार्थ समेत मन्त्रीलाई अवगत गराएको समाजले जनाएको छ ।

भेटमा मन्त्री साहले यस क्षेत्रको गम्भीरता आफूले बुझेको हुनाले यस क्षेत्रको विकास र वृत्तिमा कत्ति पनि कसर बाँकी नराख्न र समाजले सधैं सरकारलाई साथ, सहयोग र खबरदारी गरिरहनुपर्ने बताए । उनले पेशागत मागलाई सक्दो समाधान गर्ने बताउँदै वातावरण पेशाकर्मीहरूका रचनात्मक सुझावहरूको आफूले सधैं अपेक्षा गरिरहने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics