टिप्ताला नाका खुलाउन माग गर्दै फक्ताङलुङ गाउँपालिकाका वडाध्यक्षले मन्त्रीलाई लेखे पत्र

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका – ७ का वडाध्यक्षले टिप्ताला नाका सञ्चालनको माग गर्दै परराष्ट्र मन्त्रीलाई पत्र लेखेका छन् । यो वडा ताप्लेजुङको पर्यटकीय क्षेत्र ओलाङचुङ गोला बस्ती रहेको वडा हो । मन्त्री चीन भ्रमणमा गएकाले यो नाका पनि बाह्रै महिना खुलाउन पहलको माग गर्दै पत्र लेखेको वाडाध्यक्ष छेतेन लामाले बताए ।

नेपाल र चीनको परम्परागत सीमा व्यापारिक नाकाको रूपमा रहेको ओलाङचुङगोला टिप्ताला नाका नखुल्दा यस क्षेत्रबाट हुने ब्यापारमा मात्रै नभई गोलाको जनजिवनमा पनि असर परेको वडाध्यक्ष लामा बताउँछन् ।

पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण हिउँ कम पर्न थालेको र सडकमार्गले पनि यो नाका जोडिएकाले अब बाह्रै महिना नाका सञ्चालन गर्न सकिने उनको दाबी छ । कोभिड पछि हाल सम्म नाका नखुलेकोले यहाँको जनजिवन कष्टकर हुँदा मन्त्रीको चीन भम्रणको कममा यो टिप्ताला नाका बाह्रै महिना सञ्चालनको पहल हुनुपर्ने उनी बताउँछन् ।

उक्त नाका बन्द हुँदा ओलाङ्चुङगोलामा खाद्यन्न लगायतका दैनिक उपभोग्य वस्तुको जोहो गर्न समस्या हुँदै आएको छ भने पारिवारीक र सांस्कृतिक पनि असर परको स्थानीय बताउँछन् । यस क्षेत्रमा विहे गरेर तिब्बतबाट समेत आएका महिला लामो समयदेखि माइती जान नपाउँदा पारिवारिक सम्बन्धमा पनि यसले असर पारेको छ ।

केही अघि फक्ताङलुङ गाउँपालिकाले वडालाई यो नाका अस्थाई रूपमा सञ्चालन हुने र मेदेखि अक्टोबर सम्म मात्र सुचारु गर्न सहज हुने जानकारी गराएको थियो । तर, वडाध्यक्ष लामा अब यो नाका बाह्रै महिना सञ्चालन गर्न सहज हुने अवस्था आएको बताउँछन् । लामाले यहाँका मौसमसहित समस्याका विषयमा पत्र लेखेर जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र गृहमन्त्रालयमासमेत बोधार्थ दिएर परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics