सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेपछि…

काठमाडौं - आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ । अमेरिकी डाक्टरहरुले गत विहीबार यसको जानकारी गराएका छन् । चिकित्सा क्षेत्रको यो अहम् सफलताले मिर्गौला रोगसँग जुधिरहेका मानिसहरुका लागि सम्भावनाको नयाँ ढोका खोलिदिएको छ ।

गत शनिबार अमेरिकाको म्यासाच्युसेट्स जनरल अस्पतालमा ४ घण्टाको शल्यक्रिया पश्चात् डाक्टरहरुले एकजना ६२ वर्षीय पुरुषमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन् । सन् १९५४ मा यही अस्पतालमा विश्वमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

हाल सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका ६२ वर्षीय रिक स्लेम्यानको स्वास्थ्यमा सुधार आइरहेको छ छिट्टै नै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ । डाक्टरहरुका अनुसार नयाँ मिर्गौलाले वर्षौँसम्म काम गर्नसक्छ । तर यद्यपि जनावरहरुबाट मानिसमा प्रत्यारोपणमा अहिलेसम्म पनि विभिन्न कुराहरु पत्ता लगाउन बाँकी रहेको उनीहरुले बताएका छन् ।

हाल यस सफलताबाट भविष्यमा पशुहरुका अंगहरु मनिसमा धेरैभन्दा धेरै प्रत्यारोपण गर्न सकिने आशा जागेको छ । यसअघि ब्रेन डेड मानिसहरुमा परीक्षणका रुपमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर जीवित मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको भने यो पहिलो घटना हो ।

अस्पतालको विज्ञप्तिलाई उधृत गर्दै सिएनएनले बताए अनुसार स्लेम्यान ११ वर्षदेखि अस्पतालको प्रत्यारोपण कार्यक्रममा एकजना बिरामीको रुपमा थिए । कैयन् वर्षसम्म मधुमेह र उच्च रक्तचापबाट पीडित रहेका उनले सन् २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गराएका थिए । तर पाँच वर्षपछि नै प्रत्यारोपित मिर्गौलामा खराबी देखिन थाल्यो र २०२३ देखि पुनः डायलाइसिस सुरु गरे । गत वर्ष मिर्गौलाको समस्या अन्तिम चरणमा पुगेसँगै डाक्टरहरुले उनलाई सुँगुरको मिर्गौला ल्याउन सुझाव दिएका थिए ।

स्लेम्यानले भनेका छन्– मैले यसलाई केवल आफ्नो मद्दतका रुपमा मात्र होइन कि ती हजारौँ मानिसहरुको आशाको रुपमा हेरेँ जो मिर्गौलाको गम्भीर रोगसँग जुधिरहेका छन् ।

विश्वमा ठूलो संख्यामा बिरामीहरु अंगदाताको पर्खाइमा छन् । तर मानव दाताको अंगहरुको भने कमी छ । अमेरिकामा मात्र हरेक दिन १७ जना मानिसहरु कुनै न कुनै अंगको पर्खाइमै ज्यान गुमाउन बाध्य भैरहेका छन् । यसमा पनि मिर्गौला दाताको चरम अभाव छ । जनावरका अंगको मानिसमा सफल प्रत्यारोपणबाट उक्त समस्याको हल गर्नमा सहयोग पुग्न सक्दछ । पछिल्लो समयमा सुँगुरको मुटु समेत मानिसमा प्रत्यारोपणको प्रयास गरिएको छ ।
–एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics